सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रणय शमशेर राणाले पार्टी सदस्यताबाट राजीनामा दिएका छन्। उनले बिहीबार पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटीलाई सम्बोधन गर्दै लिखित पत्रमार्फत आफ्नो राजीनामा बुझाएका हुन्।
राजीनामा पत्रमा राणाले पार्टीको स्थापना कालमा गरिएको प्रतिबद्धता र वर्तमान अभ्यासबीच ठूलो अन्तर देखिएको उल्लेख गरेका छन्। ‘बेथितिको अन्त्य, थितिको थालनी’ भन्ने नारासहित स्थापना भएको पार्टी अहिले त्यसको ठीक उल्टो दिशामा गएको उनको आरोप छ।
“सबै बेथितिका बाबजुद मुकदर्शक भएर पार्टीमै रहिरहन मेरो विवेक र इमानले नमानेका कारण आजको मितिबाट राष्ट्रिय स्वतन्त्र पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा गरेको ब्यहोरा जानकारी गराउन चाहन्छु,” उनले पत्रमा उल्लेख गरेका छन्।
राणाले पार्टीभित्रको आन्तरिक लोकतान्त्रिक अभ्यास सुदृढ नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। उनले पार्टीले आफ्नै संरचना र प्रक्रियालाई पारदर्शी र उत्तरदायी ढंगले सञ्चालन गर्न नसकेको आरोप लगाउँदै यस्तो अवस्थामा भविष्यमा सरकारमा पुगेर राम्रो शासन दिन सकिन्छ भन्ने विश्वास गर्न नसकिने बताएका छन्।
उनले अन्ध समर्थन वा अन्धभक्तिका आधारमा राजनीतिमा बस्न नचाहेको स्पष्ट पारेका छन्।
राणाले प्रतिनिधि सभा निर्वाचनका लागि सञ्चालन गरिएको ‘प्राइमरी इलेक्सन’ प्रक्रियामाथि पनि गम्भीर प्रश्न उठाएका छन्। उनले प्राइमरी चुनावमा ५० प्रतिशतसम्म चलखेलको सम्भावना खुला राखिएको आरोप लगाएका छन्।
“प्राइमरी चुनावमा सधैं ५० प्रतिशत चलखेलको बाटो राखियो। अहिले आएर विशेष परिस्थितिको नाममा संगठनको आफ्नो नेतृत्व छान्ने अधिकार पनि लुटियो,” उनले उल्लेख गरेका छन्।
राणाले सदस्यता शुल्क तथा प्राइमरी प्रक्रियाका नाममा उठाइएको रकमको प्रयोगमा पारदर्शिता नदेखिएको आरोप पनि लगाएका छन्। उनका अनुसार एक हजार रुपैयाँ सदस्यता शुल्क संकलन गरी ३०० पालिकामा रकम पठाइने भनिए पनि त्यो कार्यान्वयन नभएको दाबी गरिएको छ।
“प्राइमरीका प्रक्रियामात्र नभई त्यसका लागि भनी उठाइएको ठूलो रकममा पनि आर्थिक अपारदर्शिता र अपचलन देखियो,” उनले राजीनामा पत्रमा लेखेका छन्।
राणाको राजीनामापछि रास्वपाभित्रको आन्तरिक अवस्था र नेतृत्वप्रति उठेका प्रश्नबारे पार्टीले के प्रतिक्रिया दिन्छ भन्ने विषय चासोको विषय बनेको छ।

युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा