सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

काठमाडौँ । नेकपा (एमाले) झापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले आफ्ना नेता–कार्यकर्तामाथि आक्रमण गर्नुका साथै दुई जनाको सुनको सिक्री लुटेको गम्भीर आरोप लगाएको छ।
एमाले झापाका संयोजक नारायण प्रसाद गौतमले जारी गरेको प्रेस विज्ञप्तिअनुसार, फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मनोनयन दर्ता भइरहेकै बेला सोमबार झापा निर्वाचन क्षेत्र नम्बर ५ अन्तर्गत दमकमा उक्त घटना भएको हो। एमालेका नेता तथा कार्यकर्ताहरू मनोनयन प्रक्रियामा सहभागी भई फर्किने क्रममा उनीहरूमाथि सांघातिक आक्रमण भएको र सोही क्रममा दुई जना कार्यकर्ताको घाँटीमा लगाइएको सुनको सिक्रीसमेत लुटिएको विज्ञप्तिमा उल्लेख छ।
घटनामा एमाले झापा क्षेत्रीय अध्यक्ष तथा झापा–५ का प्रतिनिधि सभा उम्मेदवार प्रेम ओलीसहित तीन जना नेता–कार्यकर्ता घाइते भएका छन्। घाइतेहरूलाई तत्काल उपचारका लागि अस्पताल लगिएको र हाल उनीहरूको अवस्था खतरामुक्त रहेको एमालेले जनाएको छ। आक्रमणका कारण निर्वाचनसम्बन्धी गतिविधि केही समय प्रभावितसमेत भएको बताइएको छ।
एमाले प्रतिनिधि सभा निर्वाचन क्षेत्र समन्वय समिति, झापा–५ ले जारी गरेको विज्ञप्तिमा मनोनयन दर्ताजस्तो संवेदनशील र महत्वपूर्ण लोकतान्त्रिक प्रक्रियाका क्रममा भएको घटनालाई लोकतान्त्रिक मूल्य र मान्यताविरुद्धको आपराधिक गतिविधि भन्दै कडा शब्दमा भर्त्सना गरिएको छ। विज्ञप्तिमा सुरक्षाकर्मीहरू घटनास्थलबाट बाहिर रहेको अवस्थाको फाइदा उठाउँदै योजनाबद्ध रूपमा आक्रमण गरिएको आरोपसमेत लगाइएको छ।
एमालेले घटनामा संलग्न सबैलाई तत्काल पक्राउ गरी निष्पक्ष अनुसन्धानमार्फत कानुनअनुसार कडा कारबाही गर्न, निर्वाचन क्षेत्रको शान्ति–सुरक्षा थप मजबुत बनाउन तथा बाँकी निर्वाचन प्रक्रिया डर–त्रासविना सम्पन्न हुने वातावरण सुनिश्चित गर्न सरकार र निर्वाचन आयोगसँग माग गरेको छ।
पार्टीले यस्ता गतिविधिले निर्वाचन वातावरण बिगार्ने र जनतामा भय सिर्जना गर्ने उद्देश्य राखेको दाबी गर्दै त्यसको कडा प्रतिवाद गरिने जनाएको छ। साथै एमालेले आफ्ना सम्पूर्ण नेता तथा कार्यकर्तालाई धैर्य, संयमता र अनुशासन कायम गर्दै शान्तिपूर्ण रूपमा निर्वाचन गतिविधिमा सहभागी हुन आग्रह गरेको छ।


युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा