सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

काठमाडौं । उच्च शिक्षाका लागि अष्ट्रेलिया पुगेका नेपाली विद्यार्थीहरूमा आत्महत्याको दर गम्भीर रूपमा बढ्दै गएको तथ्य सार्वजनिक भएको छ। पछिल्लो एक महिनामै अष्ट्रेलियाको सिडनी शहरबाट मात्रै १० जना नेपाली विद्यार्थीको शव नेपाल पठाइएको घटनाले नेपाली समुदाय स्तब्ध बनेको छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको न्यु साउथ वेल्स संयोजक उषाकिरणका अनुसार ती सबै मृतक २३ देखि ३० वर्ष उमेर समूहका नेपाली विद्यार्थी हुन्। प्रारम्भिक विवरणअनुसार अध्ययनका सिलसिलामा अष्ट्रेलिया पुगेका ती विद्यार्थीहरू विभिन्न कारणले गहिरो मानसिक तनावमा परेर आत्महत्याको बाटो रोज्न बाध्य भएका देखिएको छ।
उषाकिरणका अनुसार धेरै विद्यार्थीहरूले पढाइ अधुरो छाड्ने, लागुऔषध दुर्व्यसनमा फस्ने, जुवा–तास जस्ता गतिविधिमा संलग्न हुने तथा अत्यधिक महत्वाकांक्षाका कारण निराशामा डुब्ने अवस्थाहरू देखिएका छन्। विशेषगरी साथीभाइसँग घुलमिल नगर्ने, एक्लोपनमा बस्ने प्रवृत्ति भएका विद्यार्थीहरू बढी जोखिममा रहेको उनको भनाइ छ।
कतिपय विद्यार्थी न पढ्ने न काम गर्ने अवस्थामा पुगेर नेपालबाट निरन्तर पैसा मगाउने प्रवृत्तिमा लागेको पनि उनले बताए। पढाइ बिग्रँदै गएको, व्यवहारमा अचानक परिवर्तन आएको र आफ्नो कारण परिवार नेपालमै ऋणको चपेटामा परेको थाहा पाएपछि उनीहरू थप मानसिक दबाबमा पर्ने गरेका छन्।
पढाइ र काम दुवै ठप्प भएपछि धेरै विद्यार्थीको भिसा स्टाटससमेत अवैधानिक बन्ने गरेको बताइएको छ। लामो समय कलेज नजाँदा विद्यार्थीहरू अध्ययन प्रणालीबाट बाहिरिने र अन्ततः रेल स्टेशन, सडक किनार वा अस्थायी आश्रयमा बस्न बाध्य हुने अवस्थासमेत देखिएको छ।
सम्बन्धित अध्ययन तथा समुदायका अनुभवअनुसार यस्ता परिस्थितिले विद्यार्थीहरूलाई झन् खराब संगत, लागुऔषध र मानसिक असन्तुलनतर्फ धकेल्ने गरेको छ, जसको अन्तिम परिणाम आत्महत्या जस्तो अत्यन्तै दुखद घटनामा परिणत हुने गरेको देखिन्छ।
लगातार नेपाली विद्यार्थीको शव नेपाल फर्किन थालेपछि अष्ट्रेलियामा रहेका नेपाली समुदाय, अभिभावक र सरोकारवाला निकायहरू गम्भीर चिन्तामा परेका छन्। मानसिक स्वास्थ्य सहयोग, काउन्सेलिङ सेवा, सामुदायिक निगरानी र समयमै हस्तक्षेप आवश्यक रहेको आवाज पछिल्लो समय तीव्र बन्दै गएको छ।

युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा