सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

काठमाडौं । प्रदेश संरचना खारेज गर्दै सनातन संवैधानिक राजसंस्था स्थापना गर्न प्रधानमन्त्री निवास बालुवाटार घेराउको आह्वान गर्ने एक व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा चितवन स्थायी घर भएका ३४ वर्षीय निर्देश सेढाईं रहेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार राति काठमाडौंको हात्तीसार क्षेत्रबाट उनलाई पक्राउ गरेको हो।
अपराध अनुसन्धान कार्यालयका अनुसार गाडी व्यवसाय गर्दै आएका सेढाईंले नेपाल टेलिकमको गेटवे प्रयोग गरी ‘एटी अलर्ट’ प्रणालीमार्फत करिब ५० लाखभन्दा बढी एसएमएस सन्देश विभिन्न व्यक्तिहरूलाई पठाएका थिए। ती सन्देशमार्फत उनले पुस ३० गते मध्यान्ह १२ बजे प्रधानमन्त्री निवास बालुवाटार घेराउ गर्न आह्वान गरेका थिए।
सेढाईंले पठाएको सन्देशमा प्रदेश संरचना हटाई प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था लागू गर्ने र राजासहितको सनातन हिन्दु अधिराज्य स्थापना गर्नुपर्ने उल्लेख गरिएको थियो। उक्त सन्देश सार्वजनिक शान्ति सुरक्षामा खलल पुग्ने खालको रहेको र संविधान विपरीतको गतिविधि भएको भन्दै उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
अपराध अनुसन्धान कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश बस्नेतका अनुसार सेढाईंमाथि सार्वजनिक शान्तिमा खलल पुर्याएको कसुरमा अनुसन्धान अगाडि बढाइनेछ।
त्यसैगरी, संविधान विपरीत नेपाल टेलिकमको गेटवे कसरी प्रयोग गरियो, सो प्रयोजनका लागि सम्बन्धित निकायबाट अनुमति लिइएको थियो वा थिएन भन्ने विषयमा पनि विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनासँग सम्बन्धित अन्य व्यक्ति वा सञ्जाल संलग्न भए–नभएको विषयमा समेत अनुसन्धान जारी छ।

युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा