सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

एजेन्सी । अमेरिकाले सन् १९९० देखि सञ्चालन हुँदै आएको डाइभरसिटी भिसा (डीभी) लट्री कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी गृह सुरक्षामन्त्री क्रिस्टी नोएमले बिहीबार साँझ औपचारिक रूपमा यो कार्यक्रम तत्कालका लागि रोक्ने घोषणा गरेकी हुन्।
ब्राउन विश्वविद्यालयका दुई विद्यार्थी र एमआईटी (म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी) का एक प्राध्यापकको हत्या आरोपमा संलग्न व्यक्ति डाइभरसिटी भिसामार्फत अमेरिका प्रवेश गरेको तथ्य बाहिर आएपछि ट्रम्प प्रशासनले कडा कदम चालेको बताइएको छ।
अमेरिकी अधिकारीहरूका अनुसार क्लाउडियो म्यानुअल नेभ्स भालेन्टे नामक व्यक्ति सन् २०१७ मा डाइभरसिटी भिसा कार्यक्रमअन्तर्गत अमेरिका आएका थिए। उनी पछि स्थायी आवास अनुमति (ग्रीन कार्ड) प्राप्त गरी अमेरिकामा बसोबास गर्दै आएका थिए। सोही व्यक्तिले ब्राउन विश्वविद्यालय परिसरमा गोली चलाउँदा दुई विद्यार्थी र एमआईटीका एक प्राध्यापकको ज्यान गएको आरोप लगाइएको छ।
घटनापछि अमेरिकी प्रहरीले लामो समयसम्म उनको खोजी गरे पनि अन्ततः उनी मृत अवस्थामा फेला परेका थिए। प्रहरीले उनको मृत्युको कारणबारे अनुसन्धान जारी राखेको जनाएको छ।
यस घटनालाई गम्भीर सुरक्षा चुनौतीको रूपमा लिँदै राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा डाइभरसिटी भिसा कार्यक्रम स्थगित गर्ने निर्णय गरिएको अमेरिकी गृह सुरक्षा मन्त्रालयले जनाएको छ। राष्ट्रपति ट्रम्प यस कार्यक्रमका लामो समयदेखि आलोचक रहँदै आएका छन्। उनले डीभी लट्री कार्यक्रमले पर्याप्त सुरक्षा परीक्षण नगरी विदेशी नागरिकलाई अमेरिका प्रवेश गराउने भन्दै यसलाई “जोखिमपूर्ण” कार्यक्रमको संज्ञा दिँदै आएका थिए।
गृह सुरक्षामन्त्री क्रिस्टी नोएमले सामाजिक सञ्जाल ‘एक्स’ (पूर्व ट्विटर) मा लेखेकी छन्, “यो घिनलाग्दो व्यक्तिलाई हाम्रो देशमा प्रवेश गर्न दिनु हुँदैन थियो। राष्ट्रपति ट्रम्पको स्पष्ट निर्देशनअनुसार म तुरुन्तै यूएससीआईएसलाई डीभी–१ कार्यक्रम स्थगित गर्न निर्देशन दिँदै छु, ताकि यस विनाशकारी कार्यक्रमका कारण थप अमेरिकी नागरिकहरूलाई हानि नहोस्।”
डाइभरसिटी भिसा कार्यक्रम सन् १९९० को दशकमा सुरु गरिएको हो। यस कार्यक्रममार्फत अमेरिकाले आप्रवासन दर न्यून रहेका देशका नागरिकलाई हरेक वर्ष करिब ५० हजार भिसा प्रदान गर्दै आएको थियो। एसिया, अफ्रिका, युरोप र अन्य क्षेत्रका हजारौं नागरिक यस कार्यक्रममार्फत अमेरिका प्रवेश गर्ने अवसर पाउँदै आएका थिए।
कार्यक्रम स्थगित भएपछि नेपालसहित डीभी लट्रीमा ठूलो संख्यामा आवेदन दिने देशका नागरिकहरूमा अन्योल बढेको छ। अमेरिकी प्रशासनले कार्यक्रम स्थगनको अवधि कति रहने भन्नेबारे भने स्पष्ट जानकारी दिएको छैन।

युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा