सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र बढ्दो उत्साह र जनसमर्थनलाई संकेत गर्दै उपसभापति डा. स्वर्णिम वाग्लेलाई आगामी वर्षको बजेट लेख्न सुरु गर्न निर्देशन दिएका छन्।
पार्टी समायोजन सभालाई सम्बोधन गर्दै लामिछानेले रास्वपा अब केवल वैकल्पिक शक्तिको रूपमा सीमित नरही शासनको जिम्मेवारी वहन गर्न सक्षम बन्दै गएको दाबी गरे। उनले भने, “रास्वपाप्रति देखिएको उत्साह र जनविश्वासले हामी सरकारको तयारीतर्फ अघि बढ्नुपर्ने अवस्था आएको छ। त्यसैले म पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेलाई भन्छु— डा’साप, आगामी वर्षको बजेट लेख्न सुरु गर्नुस्।”
उनको यो अभिव्यक्तिलाई रास्वपाले आर्थिक नीति, बजेट र शासन सञ्चालनबारे स्पष्ट तयारी थालेको संकेतका रूपमा हेरिएको छ। अर्थशास्त्रीसमेत रहेका डा. वाग्लेलाई लक्षित गर्दै गरिएको उक्त टिप्पणीले पार्टी अब नीतिगत र प्राविधिक तयारीमा केन्द्रित हुन लागेको सन्देश दिएको छ।
सभापति लामिछानेले पार्टीमा कवि, कलाकार, मोडललगायत विभिन्न पेसा र पृष्ठभूमिका व्यक्तिहरू आबद्ध भएको विषयलाई लिएर भइरहेका आलोचनाप्रति पनि जवाफ दिए। उनले ती आलोचनालाई पुरानो राजनीतिक सोचको उपज भन्दै भने, “तपाईंहरूले उनीहरूलाई गरिखान दिनु भयो र? अवसर नदिइएपछि, आवाज नसुनिएपछि बाध्य भएर हस्तक्षेप गर्न राजनीतिमा आएका हुन्।”
उनका अनुसार रास्वपामा जोडिएका व्यक्तिहरू कुनै रहर वा शोखका कारण होइन, राज्यको असफलताबाट पैदा भएको बाध्यताका कारण राजनीतिमा आएका हुन्। उनले यसलाई राजनीतिक चेतनाको नयाँ रूपको रूपमा व्याख्या गरे।
लामिछानेले अन्य दलहरूबीच हुने एकता र त्यसपछि हुने विभाजनलाई आफूले नजिकबाट नियालिरहेको पनि बताए। उनले सत्ता र स्वार्थ केन्द्रित राजनीतिले देशलाई अघि बढाउन नसक्ने टिप्पणी गर्दै देश बनाउने यात्रामा सबै परिवर्तनकामी शक्तिहरू गोलबद्ध हुनुपर्नेमा जोड दिए।
उनले भने, “एकता हुँदा र एकता भंग हुँदा देखिने अनुहार हामीले देखिरहेका छौँ। अब देश बनाउने हो भने इमानदार नियत, स्पष्ट नीति र जनताको पक्षमा उभिने साहस चाहिन्छ।”
समायोजन सभामा सहभागी नेता तथा कार्यकर्ताहरूले पार्टी संगठनलाई थप सुदृढ बनाउँदै नीतिगत तयारी, वैकल्पिक शासन मोडेल र जनमुखी कार्यक्रमहरूलाई प्राथमिकता दिनुपर्ने धारणा राखेका थिए। रास्वपाले आगामी दिनमा आर्थिक सुधार, सुशासन र रोजगारी सिर्जनालाई केन्द्रमा राखेर अघि बढ्ने संकेत पनि सभाबाट दिएको छ।

युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा