सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

काठमाडौं । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको अमेरिका भ्रमण रोकिएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए–अमेरिका) को निम्तोमा अमेरिका जान लागेका मन्त्री गुप्ताको भ्रमण एनआरएनएभित्रै फरक–फरक धारबाट आएका विज्ञप्तिपछि विवादमा तानिएको हो।
एक पक्षले मन्त्री गुप्तालाई अमेरिकामा आयोजना हुने कार्यक्रममा निमन्त्रणा गरिएको दाबी गर्दै विज्ञप्ति निकालेको थियो भने अर्को पक्षले आफूहरूले कुनै पनि निम्तो नदिएको भन्दै सार्वजनिक रूपमा अस्वीकार गरेपछि विवाद चर्किएको थियो। यसैबीच मन्त्रीले बनावटी कार्यक्रम देखाएर अमेरिकाको भिसा लिन खोजेको आरोपसमेत लागेपछि भ्रमण प्रक्रिया रोकिएको हो।
मन्त्रिपरिषद्को पुस २१ गते बसेको बैठकले मन्त्री गुप्तालाई आगामी माघ ३ गते अमेरिकामा आयोजना हुने ‘रोल अफ एनआरएनए युथ इन द डेभलपमेन्ट अफ नेपाल पोस्ट जेनजी रिभोल्युसन’ कार्यक्रममा सहभागी हुन भ्रमण स्वीकृति दिएको थियो।
विकास उप्रेती अध्यक्ष रहेको एनआरएनए–अमेरिकाले मन्त्री गुप्तालाई निमन्त्रणा पठाएको दाबी गरेको थियो भने सतेन्द्र शाह अध्यक्ष रहेको अर्को एनआरएनए–अमेरिकाले मन्त्रीलाई नबोलाएको भन्दै विज्ञप्ति जारी गरेको थियो। दुई फरक एनआरएनएको दाबीले भ्रमण थप विवादास्पद बनेको हो।
यस विषयमा प्रतिक्रिया दिँदै मन्त्री गुप्ताले आफूले भिसा प्रोसेस नै नगरेको अवस्थामा मिडिया र सामाजिक सञ्जालमा विभिन्न आरोप लगाइएकोप्रति असन्तुष्टि जनाएका छन्। एक अनलाइन सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा उनले आफूलाई ‘तस्कर’ जस्ता आरोप लगाएर सबै मिलेर लखेटिएको अनुभूति भएको बताएका छन्।
उनले आज एनआरएनए केन्द्रबाट आधिकारिक विज्ञप्ति आउने दाबी गर्दै त्यसपछि सही–गलत प्रष्ट हुने बताएका छन्। केवल इन्भिटेसन आएको आधारमा अमेरिका जान लागेको भन्दै राज्यको पैसा दोहन गर्न खोज्यो भन्ने आरोप लगाउन नमिल्ने उनको भनाइ छ।
भिसा प्रोसेस गर्ने वा नगर्ने भन्ने प्रश्नमा मन्त्री गुप्ताले भने, “प्रोसेस गर्ने माइन्डसेट पहिले पनि बनाएको थिइनँ, अहिले पनि बनाएको छैन। परिस्थिति मिल्यो भने म राजीनामा दिएर जान सक्छु, नजान पनि सक्छु।”
एनआरएनएभित्रको विवाद र आरोप–प्रत्यारोपका बीच मन्त्री गुप्ताको अमेरिका भ्रमण अनिश्चित बनेको छ।

युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा