सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
नेपालगन्ज। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसलाई अब कुनै पनि हालतमा अलमल गर्ने सुविधा नरहेको भन्दै पार्टीका सबै नेता–कार्यकर्तालाई एक ढिक्का भएर आगामी निर्वाचनमा होमिन आग्रह गरेका छन्।
कांग्रेस बाँकेले आज नेपालगन्जमा आयोजना गरेको बृहत जिल्ला भेलालाई सम्बोधन गर्दै उपसभापति शर्माले देशको वर्तमान राजनीतिक अवस्था, जनतामा देखिएको निराशा र लोकतन्त्रको चुनौतीपूर्ण परिस्थितिलाई मध्यनजर गर्दै कांग्रेसले जिम्मेवार र निर्णायक भूमिका खेल्नुपर्ने समय आएको बताएका हुन्।
उनले भने, “जेन–जी विद्रोहपछि साँच्चिकै सच्चिएर आएको दल कांग्रेस हो। देशलाई गाँस्ने पार्टी कांग्रेस हो। अब बन्ने सरकारले नागरिकमा आशा र भरोसा जगाउनुपर्छ, र त्यो तागत कांग्रेससँग मात्र छ। इतिहास साक्षी छ—समन्वय, सहकार्य र एकता कायम गर्न सक्ने सामर्थ्य कांग्रेससँग छ।”
उपसभापति शर्माले कांग्रेस केवल सत्ता प्राप्तिका लागि नभई लोकतन्त्र, संविधान र नागरिक अधिकारको संरक्षणका लागि संघर्ष गर्दै आएको पार्टी भएको उल्लेख गरे। उनले विगतका कमजोरी स्वीकार गर्दै पार्टी अब आत्मसमीक्षा गरेर अघि बढिरहेको दाबी गरे।
उनले कार्यकर्तालाई आ–आफ्नो जिम्मेवारीप्रति इमानदार हुन आग्रह गर्दै भने, “जो जहाँ जुन पदीय जिम्मेवारीमा छ, उसले आफू त्यहीँ खटिएर काम गर्नुपर्छ। पार्टीलाई बलियो बनाउने काम नेतृत्वको मात्र होइन, हरेक कार्यकर्ताको दायित्व हो।”
शर्माले निर्वाचनमा संगठनको भूमिका निर्णायक हुने भन्दै घर–घरमा कांग्रेसको नीति, कार्यक्रम र योगदान पुर्याउन कार्यकर्तालाई निर्देशन दिए। उनले लोकतन्त्रविरोधी र संविधान कमजोर पार्न चाहने शक्तिहरूविरुद्ध कांग्रेस एकजुट हुनुपर्नेमा जोड दिए।
भेलामा बोल्दै कांग्रेस केन्द्रीय सदस्य, प्रदेश उपसभापति तथा कांग्रेस बाँके क्षेत्र नम्बर ३ का उम्मेदवार अमर सिंह पुनले संविधान र लोकतान्त्रिक मूल्यको रक्षाका लागि कांग्रेसको जित अनिवार्य रहेको बताए। उनले बाँकेमा कांग्रेसप्रति जनसमर्थन बढ्दै गएको दाबी गर्दै संगठनलाई अझ मजबुत बनाएर चुनावी मैदानमा उत्रनुपर्ने बताए।
कार्यक्रममा बाँके जिल्लाका कांग्रेसका नेता, जनप्रतिनिधि, भातृ संगठनका प्रतिनिधि तथा ठूलो संख्यामा कार्यकर्ताहरूको सहभागिता रहेको थियो। भेलाले निर्वाचन केन्द्रित रणनीति, संगठन सुदृढीकरण र मतदातासम्म पुग्ने अभियानलाई तीव्र बनाउने निर्णयसमेत गरेको जनाइएको छ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा