सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपालमा चिनियाँ विद्युतीय सवारीसाधन (ईभी) ब्रान्ड बिवाईडी (BYD) आयात गर्दै आएको साइमेक्स इंक भन्सार छली प्रकरणमा मुछिएको छ। भन्सार विभागले गरेको छानबिनमा गाडी भन्सार यार्डमा नपुग्दै जाँचपास गरिएको तथ्य फेला परेको स्रोतले जनाएको छ।
विभागीय अनुसन्धानपछि तत्कालीन भन्सार प्रमुख तुलसीप्रसाद भट्टराईसहित केही कर्मचारीलाई निलम्बन गरिएको छ भने सम्बन्धित भन्सार एजेन्टमाथि पनि कारबाही सिफारिस गरिएको बताइएको छ।
स्रोतका अनुसार बजेटमार्फत सवारीसाधनमा भन्सार दर बढ्ने संकेत पाएपछि केही कम्पनीहरूले गाडी नाकामा नआइपुग्दै जाँचपास गराएर पुरानो दरमै भन्सार तिर्ने प्रयास गरेका थिए। यस क्रममा साइमेक्ससहित सिजी मोटर्स, पूजा इन्टरनेशनल र लक्ष्मी इमोबिलिटीको संलग्नता देखिएको दाबी गरिएको छ।
छानबिनमा विशेषगरी बिवाईडी गाडीको आयात प्रक्रियामा बढी अनियमितता भेटिएको स्रोतको भनाइ छ। यसअघि पनि बिवाईडी गाडीको क्षमता कम देखाएर भन्सार तथा कर छली गरेको विषय सार्वजनिक भएको थियो। उक्त घटनामा सामान्य जरिवाना भए पनि विस्तृत अनुसन्धान भने हुन सकेको थिएन।
साइमेक्सका सञ्चालक यमुना श्रेष्ठ र अनिल श्रेष्ठमाथि समेत कर तथा भन्सार छलीसम्बन्धी उजुरी विभिन्न निकायमा परेको बताइएको छ। महालेखा परीक्षकको कार्यालयले समेत कम्पनीसँग सम्बन्धित भन्सार छलीको विषय आफ्नो प्रतिवेदनमा उठाएको उल्लेख गरिएको छ।
घटनाबारे थप अनुसन्धान जारी रहेको र दोषी ठहर हुनेमाथि कानुनबमोजिम कारबाही गरिने सम्बन्धित निकायले जनाएको छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा