सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । सुन तस्करीमा मुछिएका नेकपाका नेता तथा पूर्व सभामुख कृष्णबहादुर महराले सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गरेका छन्। बिहीबार विज्ञप्ति जारी गर्दै उनले स्वास्थ्य अवस्थाका कारण पार्टीको सक्रिय जिम्मेवारीबाट अलग हुने निर्णय गरेको जानकारी दिएका हुन्।
महराले आफूले पार्टी नछोडेको स्पष्ट पार्दै सक्रिय जिम्मेवारीबाट मात्रै अलग भएको बताएका छन्। उनले यो निर्णय कुनै राजनीतिक असन्तुष्टि, गुनासो वा वैचारिक विचलनका कारण नभई स्वास्थ्य समस्याका कारण बाध्य भएर लिनुपरेको उल्लेख गरेका छन्।
विगत ४८ वर्षदेखि नेपाली कम्युनिस्ट आन्दोलनमा सक्रिय रहँदै आएका महराले आफू ‘एट्रोफी’ सम्बन्धी नसा तथा मांसपेशीको समस्याबाट पीडित रहेको बताएका छन्। नियमित उपचार, थेरापी र औषधि सेवन गर्दा पनि स्वास्थ्यमा अपेक्षित सुधार नआएकाले पार्टीका गतिविधि र जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न कठिन भएको उनको भनाइ छ।
विज्ञप्तिमा उनले पार्टीको सक्रिय जिम्मेवारीबाट अलग भई साधारण सदस्यका रूपमा रहने निर्णय गरेको उल्लेख गरेका छन्। साथै, लामो राजनीतिक यात्राका क्रममा साथ, सहयोग र विश्वास गर्ने पार्टीका नेता–कार्यकर्ता, शुभेच्छुक, जनता तथा परिवारप्रति कृतज्ञता व्यक्त गरेका छन्।
नेकपा चौथो महाधिवेशनदेखि माओवादी आन्दोलनका विभिन्न चरणमा आफ्नो क्षमताअनुसार योगदान गरेको स्मरण गर्दै महराले नयाँ पुस्ताका ऊर्जाशील युवाहरूले देशलाई समृद्ध, आत्मनिर्भर र अग्रगामी दिशातर्फ अघि बढाउने विश्वास व्यक्त गरेका छन्।

काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा