सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले सरकार र सभामुखको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै प्रतिपक्षका माग र आवाजलाई बेवास्ता गरिएको आरोप लगाएका छन्।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले संसद्मा प्रयोग गरेको ‘राष्ट्रघाती’ शब्द अभिलेखबाट हटाउन आफूहरूले निरन्तर माग गर्दै आएको भए पनि त्यसबारे कुनै सुनुवाइ नभएको बताए।
उनले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति सच्याउन माग गर्दै आफूहरू १६ दिनदेखि संसद्मा प्लेकार्डसहित विरोधमा उत्रिएको स्मरण गराउँदै सभामुख डोलप्रसाद अर्यालले प्रतिपक्षको आवाजप्रति गम्भीरता नदेखाएको आरोप लगाए।
“सरकार र सभामुखले प्रतिपक्षको कुरा नै नसुन्ने हो भने संसद् कसरी जिम्मेवार ढंगले सञ्चालन हुन सक्छ ? लोकतन्त्रमा सबै पक्षको आवाजलाई सम्मान गर्नुपर्छ,” साम्पाङले भने।
प्रधानमन्त्री शाहप्रति कटाक्ष गर्दै उनले सार्वजनिक पदमा रहेका व्यक्तिहरूमा नैतिकता, उत्तरदायित्व र जवाफदेहिता अनिवार्य हुनुपर्ने धारणा व्यक्त गरे। “मान्छे राम्रो लुगा लगाएर वा महँगो गाडी चढेर मात्र ठूलो हुँदैन, उसमा नैतिकता र जिम्मेवारीबोध पनि हुनुपर्छ,” उनले भने।
साम्पाङले बजेट निर्माण तथा वितरण प्रक्रियामाथि पनि प्रश्न उठाए। रक्षा मन्त्रालयको बजेटसम्बन्धी ‘रेड बुक’ उपलब्ध नगराई बजेट छलफल सम्पन्न गरिएको भन्दै उनले सरकारको आलोचना गरे। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई लक्षित गर्दै उनले बजेट प्रक्रियामा पारदर्शिता र उत्तरदायित्वको अभाव देखिएको टिप्पणी गरे।
सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको बजेटमा समेत गम्भीर त्रुटि रहेको दाबी गर्दै उनले पाँच अर्ब रुपैयाँभन्दा बढीको बजेटमध्ये एक अर्ब ६१ करोड रुपैयाँको मात्र स्पष्ट विवरण देखिएको र बाँकी रकमको खर्च शीर्षक अस्पष्ट रहेको बताए। यस्तो अवस्थाले बजेटको विश्वसनीयतामाथि प्रश्न उठाएको उनको भनाइ थियो।
बैठकमा बोल्दै साम्पाङले भारतको बिहार राज्यको पटना क्षेत्रमा करिब नौ सय नेपाली नागरिक नेटवर्किङ व्यवसायको प्रलोभनमा परेर समस्यामा परेको सूचना प्राप्त भएको पनि जानकारी गराए। उनीहरूलाई नियन्त्रणमा राखिएको, मोबाइल फोन जफत गरिएको तथा दुर्व्यवहार भइरहेको जानकारी आएको भन्दै उनले तत्काल उद्धार र कूटनीतिक पहलका लागि सरकारको ध्यानाकर्षण गराए।
साम्पाङले संसद्, सरकार र सम्बन्धित निकायहरूले जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयमा गम्भीरता देखाउनुपर्ने आवश्यकता औँल्याउँदै लोकतान्त्रिक मूल्य–मान्यता अनुरूप प्रतिपक्षका आवाजलाई सम्मान गर्न आग्रह गरेका छन्।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा