सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले संघीय संसद् भवन परिसरमा सञ्चालित क्यान्टिन तथा होटलमा चिया–खाजाको मूल्य अत्यधिक महँगो भएको भन्दै सभामुखको ध्यानाकर्षण गराएका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै सांसद सुनारले संसद् भवनको बरन्डामा ‘फाइभ स्टार होटल’जस्तो क्यान्टिन सञ्चालन गरिएको भन्दै त्यसको मूल्यप्रति आपत्ति जनाएका हुन्। उनले संसद् परिसरमा रहेका क्यान्टिनमा सामान्य चिया–खाजासमेत सर्वसाधारणको पहुँचभन्दा बाहिरको मूल्यमा बिक्री भइरहेको दाबी गरे।
सांसद सुनारका अनुसार संसद् परिसरमा कालो चियाको १०० रुपैयाँ, दूध चियाको २०० रुपैयाँ, मःमको ३०० रुपैयाँ, चाउमिनको ४०० रुपैयाँ र पाउरोटीको ५०० रुपैयाँसम्म मूल्य लिइरहेको छ। उनले यति महँगो मूल्यमा सांसदहरूले नै खानेकुरा किन्न सक्ने अवस्था छ कि छैन भन्ने प्रश्नसमेत उठाए।
संसद् सचिवालयका कर्मचारी तथा मर्यादापालकहरूलाई समेत यस्तो मूल्यले समस्या पारेको सुनारको भनाइ थियो। सीमित तलबमा काम गर्ने कर्मचारी तथा सुरक्षाकर्मीले संसद् परिसरमै सामान्य चिया–खाजा खानसमेत कठिन हुने अवस्था सिर्जना भएको उनले बताए।
उनले संसद् भवनको बरन्डामा सञ्चालन भइरहेको महँगो क्यान्टिन कसले सञ्चालन गरेको हो भन्ने प्रश्न गर्दै त्यसलाई तत्काल हटाउन सभामुखसँग माग गरे। संसद् परिसरमा आवश्यकताभन्दा धेरै होटल तथा क्यान्टिन सञ्चालन गरिएको भन्दै उनले त्यसको व्यवस्थापन र मूल्य निर्धारणमा संसद् सचिवालयले ध्यान दिनुपर्ने बताए।
सुनारले केही दिनअघि संसद्मा ‘चिया खान जाऔँ’ भन्ने अडियो भाइरल भएको प्रसंगसमेत जोड्दै व्यंग्यात्मक रूपमा ‘यस्तो महँगीमा चिया खान कहाँ जाने सभामुख महोदय ?’ भन्ने प्रश्न गरेका थिए।
उनले सिंहदरबार तथा संसद् परिसरमा सञ्चालन हुने क्यान्टिनका लागि मूल्यमा एकरूपता कायम गर्नुपर्ने धारणा राखे। नेपालगन्ज, वीरगन्ज, दैलेखलगायतका जिल्लाका बजारमा सामान्य चिया–खाजाको जुन मूल्य पर्छ, संसद् भवनभित्र पनि त्यसको तुलनामा अस्वाभाविक रूपमा महँगो मूल्य लिन नहुने उनको भनाइ थियो।
सांसद सुनारले संसद् सचिवालयलाई क्यान्टिनको मूल्य, सञ्चालन व्यवस्था र कर्मचारी तथा सांसदलाई उपलब्ध गराइने सेवासुविधाबारे पुनरावलोकन गर्न आग्रह गर्दै मनपरी मूल्य असुल्ने व्यवस्था अन्त्य गर्न सभामुखको ध्यानाकर्षण गराएका छन्।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा