सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–दामनस्थित प्रसिद्ध ऋषेश्वर महादेव मन्दिरमा हरिबोधिनी एकादशी (ठूलो एकादशी) को अवसरमा भव्य मेला लागेको छ । बिहीबार परेको ठूलो एकादशीका अवसरमा बिहानैदेखि मन्दिरमा दर्शन तथा पूजाआजा गर्ने भक्तजनको घुइँचो लागेको हो ।
मेलामा थाहा नगरपालिकासहित मकवानपुरका विभिन्न स्थान तथा धादिङ, चितवन, काठमाडौँ, बारा, पर्सा र काभ्रेलगायत जिल्लाबाट हजारौँ श्रद्धालु भक्तजन सहभागी भएका छन् । त्यस्तै, तिब्बतबाट समेत भक्तजन तथा दर्शनार्थीहरू मेला भर्न आउने गरेका छन् ।
ऋषेश्वर महादेव मन्दिरमा ठूलो एकादशीका दिन विशेष पूजा, आराधना तथा धार्मिक गतिविधि हुने गर्दछ । मन्दिर परिसरमा बाबियोको डोरीमा फूलपाती राखेर ‘फूल तार्ने’ परम्परासमेत रहेको छ । ऋषेश्वर महादेवको दर्शन तथा पूजाआजा गरे मनले चिताएको इच्छा पूरा हुने र सन्तान प्राप्तिको कामना गरे पुत्रलाभ हुने धार्मिक जनविश्वास रहिआएको छ ।
यसैगरी हरिबोधिनी एकादशीको अवसरमा भीमफेदी गाउँपालिका–१ स्थित ऐतिहासिक त्रिखण्डेश्वर महादेव मन्दिरमा भक्तजनको घुइँचो लागेको छ ।
राप्ती खोलाको किनारमा अवस्थित यस ऐतिहासिक धार्मिकस्थलमा ठूलो एकादशीका दिन हरेक वर्ष विशेष मेला लाग्ने गर्दछ । एकादशीको अवसरमा मकवानपुरसहित आसपासका विभिन्न क्षेत्रबाट श्रद्धालु भक्तजनहरू दर्शन तथा पूजाआजाका लागि मन्दिर पुग्ने गरेका छन् ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा