सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा वरिष्ठ नेता झलनाथ खनालले पार्टी परित्याग गर्दै ‘समाजवादी जागरण अभियान’ घोषणा गरेका छन्।
सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत खनालले नयाँ राजनीतिक तथा वैचारिक अभियानको घोषणा गरेका हुन्। उनले समाजवादतर्फ अघि बढ्नुको विकल्प नरहेको भन्दै विभिन्न वामपन्थी शक्तिलाई एक ठाउँमा ल्याउने उद्देश्यले अभियान सुरु गरिएको बताएका छन्।
खनालको नेतृत्वमा यसअघि भएको भेलाले अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो। उक्त पहिलो भेलाले समसामयिक राजनीति, जनजीविका, विपद् व्यवस्थापन र कम्युनिस्ट आन्दोलनको पुनर्गठनलगायत विषय समेटिएका १५ बुँदे प्रस्ताव पारित गरेको छ।
अभियानले कम्युनिस्ट आन्दोलनका विगतका अनुभव, उपलब्धि, कमजोरी र चुनौतीको समीक्षा गर्दै वैचारिक तथा राजनीतिक कार्यदिशाका आधारमा संगठनात्मक पुनर्गठन र एकीकरणको प्रक्रिया अघि बढाउन आह्वान गरेको छ। साथै, ‘नेपाली विशेषताको समाजवाद’बारे खुला वैचारिक बहस सञ्चालन गर्नुपर्नेमा जोड दिइएको छ।
प्रस्तावमा विभिन्न कम्युनिस्ट तथा वामपन्थी शक्तिबीच व्यापक एकताको आवश्यकता औंल्याउँदै एकीकृत कम्युनिस्ट पार्टी निर्माणको दिशामा अघि बढ्न आह्वान गरिएको छ। अभियानले समाजवादी रूपान्तरणका लागि वैचारिक स्पष्टता, संगठनात्मक एकता र साझा राजनीतिक कार्यदिशालाई आवश्यक मानेको छ।
त्यस्तै, विपद् प्रभावितको उद्धार, राहत, पुनर्वास तथा पुनर्निर्माणलाई प्रभावकारी बनाउनुपर्ने, राहत तथा पुनर्निर्माणमा प्राप्त सहयोगको पारदर्शी लेखा सार्वजनिक गर्नुपर्ने र विपद् जोखिमलाई ध्यानमा राखेर राष्ट्रिय नीति तथा विकासका मापदण्ड पुनरवलोकन गर्नुपर्ने विषय पनि प्रस्तावमा समेटिएका छन्।
अभियानले श्रमिक, विद्यार्थी तथा सरकारी कर्मचारीका पेसागत अधिकारको संरक्षण, संविधानले सुनिश्चित गरेका राजनीतिक, सामाजिक तथा आर्थिक अधिकारको रक्षा तथा राष्ट्रिय हितअनुकूल सन्धि–सम्झौताको पुनरावलोकन गर्नुपर्ने विषय पनि अघि सारेको छ।
खनालले अभियानलाई तत्काल नयाँ पार्टीका रूपमा नभई वामपन्थी शक्तिबीच वैचारिक बहस र एकताका लागि पहलका रूपमा अघि बढाउने संकेत गरेका छन्। उनले विभिन्न वामपन्थी विचारधाराका नेताहरूसँग अभियानबारे छलफल भइसकेको जानकारीसमेत दिएका छन्।
अभियानमा हरिबोल गजुरेल, महेश्वर दाहाललगायत नेताहरूको सहभागिता रहेको जनाइएको छ। अब अभियानले अघि सार्ने राजनीतिक तथा वैचारिक कार्यक्रम र विभिन्न वामपन्थी समूहसँगको सहकार्यले यसको आगामी स्वरूप निर्धारण गर्ने देखिन्छ।

काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा