सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्मको बम्पर उपहार शुक्रबार घोषणा गरिएको छ।
अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति सुम्निमा उदास तथा प्रतिनिधिसभा सदस्यद्वय गणेश कार्की र सन्तोष राजवंशीले संयुक्त रूपमा उक्त अवधिको उपहार घोषणा गरेका हुन्।
घोषित बम्पर उपहारअन्तर्गत पर्साका लालबाबु साह कानुले १० लाख रुपैयाँ प्राप्त गरेका छन्। उनले २१ हजार रुपैयाँ बराबरको ल्युब आयल खरिद गर्दा लिएको बिलमा भएको कारोबार बम्पर उपहारका लागि छनोट भएको हो।
उपहारमा छनोट भएपछि आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालले कानुलाई फोनमार्फत बधाई दिँदै पुरस्कार प्राप्त गर्न नजिकको कर कार्यालयमा सम्पर्क गर्न आग्रह गरेका छन्।
आन्तरिक राजस्व विभागका अनुसार असोज १ देखि १५ गतेसम्म अनलाइन तथा नगद कारोबारमार्फत बिल लिएका ३ करोड १८ लाख १८ हजार २८६ वटा कारोबार उपहार कार्यक्रमका लागि योग्य भएका थिए।
त्यसमध्ये नगदमा कारोबार गरी बिल लिएका उपभोक्ताका २ लाख ४७ हजार ९७९ वटा कारोबार थिए। यस्तै, अनलाइन तथा कार्डमार्फत भुक्तानी गरी वस्तु तथा सेवा खरिद गरेका उपभोक्ताका ३ करोड १५ लाख ७० हजार ३०७ वटा कारोबार उपहार कार्यक्रममा सहभागी भएका थिए।
विभागले उपभोक्तालाई खरिद गर्दा अनिवार्य रूपमा बिल लिन प्रोत्साहित गर्ने तथा कर प्रणालीमा उपभोक्ताको सहभागिता बढाउने उद्देश्यले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।
यस कार्यक्रममार्फत बिल लिने उपभोक्तामध्येबाट निश्चित अवधिका कारोबार छनोट गरी बम्परलगायतका उपहार प्रदान गर्ने व्यवस्था गरिएको छ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा