सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद नीतिमा भण्डारीले भोटेकोशी बाढीमा परी बेपत्ता भएका शिक्षक द्वारिकाप्रसाद दंगालकी श्रीमतीलाई उनको रिक्त शिक्षक पदमा नियुक्त गर्न सरकारसँग माग गरेकी छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद भण्डारीले सर्लाहीको हरिपुर–७, चिताइनस्थित श्री लक्ष्मीनाथ जनता आधारभूत विद्यालयमा कार्यरत शिक्षक दंगाल भोटेकोशी बाढीपछि बेपत्ता भएको र हालसम्म उनको अवस्थाबारे कुनै जानकारी प्राप्त हुन नसकेको बताइन्।
दंगाल परिवारको मुख्य आम्दानीको आधार रहेकाले उनी बेपत्ता भएपछि परिवार आर्थिक संकटमा परेको भण्डारीले बताइन्। दंगालकी श्रीमती मन्दिरा अधिकारी दंगाल स्थानीय निजी विद्यालयमा अध्यापनरत रहेको उल्लेख गर्दै उनले आवश्यक कानुनी प्रक्रिया पूरा गरी श्रीमान्को रिक्त शिक्षक पदमा नियुक्त गर्ने विशेष व्यवस्था मिलाउन सरकारसँग आग्रह गरिन्।
‘द्वारिकाप्रसाद दंगाल बेपत्ता भएपछि रिक्त भएको शिक्षक पदमा प्रचलित कानुन र आवश्यक प्रक्रिया पूरा गरी उहाँकी श्रीमतीलाई नियुक्त गर्ने विशेष व्यवस्था गरियोस्,’ सांसद भण्डारीले भनिन्, ‘यसले विपत्तिमा परेका परिवारप्रति राज्यको साथ र संवेदनशीलता देखाउनेछ।’
भोटेकोशी विपत्तिमा दंगालजस्तै विभिन्न पेसामा रहेका धेरै व्यक्ति बेपत्ता भएको भन्दै उनले उनीहरू फर्केर आउने सम्भावना न्यून हुँदै गएकाले सरकारले प्रभावित परिवारलाई विशेष रूपमा सम्बोधन गर्नुपर्ने बताइन्।
बेपत्ता तथा मृतकका परिवारका योग्य सदस्यलाई रोजगारीको अवसर र सामाजिक सुरक्षाको व्यवस्था गर्न सकिने उनको भनाइ छ। उनले दंगाल परिवारबाटै यस्तो व्यवस्थाको सुरुआत गर्न सरकारसँग आग्रह गर्दै विपत्तिमा परेका परिवारलाई राज्य आफ्नो साथमा रहेको अनुभूति दिलाउन रोजगारी र सामाजिक सुरक्षासम्बन्धी विशेष व्यवस्था आवश्यक रहेको बताइन्।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा