सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत शेयर कारोबारमा लाग्ने पूँजीगत लाभकर बढाउने घोषणा गरेपछि त्यसको प्रभाव शेयर बजारमा देखिएको छ। बजेट सार्वजनिक भएपछिको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको हो।
नेप्से परिसूचक २६ दशमलव ७२ अंकले घटेर २ हजार ७५५ दशमलव ३७ विन्दुमा कायम भएको छ। बजारमा बिक्री चाप बढेसँगै निर्जीवन बीमा र अन्य समूह बाहेक सबै उपसूचक ओरालो लागेका छन्। विशेषगरी व्यापार समूहको सूचक ६ प्रतिशतभन्दा बढीले घट्दा समग्र बजारमा नकारात्मक प्रभाव परेको छ।
आज कारोबार भएका ३४९ कम्पनीमध्ये २३३ कम्पनीको शेयर मूल्य घटेको छ भने ३५ कम्पनीको मात्रै मूल्य बढेको छ। नेपाल फाइनान्स र स्वस्तिक लघुवित्तको शेयर मूल्य भने स्थिर रहेको छ।
कम्पनीगत रूपमा बुङ्गल हाइड्रोपावरको शेयर मूल्य १३ प्रतिशतभन्दा बढीले घटेको छ। यद्यपि समग्र बजार घटिरहेका बेला नेपाल रिइन्सुरेन्स र कालिञ्चोक हाइड्रोपावरको शेयर मूल्य १५ प्रतिशतले बढेको छ।
कारोबार रकममा समेत गिरावट आएको छ। गत बुधवार ६ अर्ब ३ करोड रुपैयाँको कारोबार भएकोमा आज १ करोड ३३ लाख कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम ५ अर्ब ६१ करोड रुपैयाँमा सीमित भएको छ।
सरकारले बजेटमार्फत पूँजीगत लाभकरको दर वृद्धि गरेको छ। अब एक वर्षभन्दा कम अवधिमा शेयर बिक्री गरेर नाफा कमाउने लगानीकर्ताले १० प्रतिशत कर तिर्नुपर्नेछ भने एक वर्षभन्दा बढी समय शेयर होल्ड गरेपछि बिक्री गर्दा प्राप्त हुने नाफामा ७.५ प्रतिशत कर लाग्नेछ। यसअघि यस्तो करको दर ५ प्रतिशतदेखि ७.५ प्रतिशतसम्म मात्रै थियो।
करको दर बढाइएपछि लगानीकर्तामा नकारात्मक मनोविज्ञान सिर्जना भएको र त्यसकै असर बजारमा देखिएको विश्लेषण गरिएको छ। आगामी दिनमा लगानीकर्ताको प्रतिक्रिया र बजारको प्रवृत्तिले नेप्सेको दिशा निर्धारण गर्ने अपेक्षा गरिएको छ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा