सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । स्थानीय तहलाई दलीयकरणमुक्त र स्वतन्त्र बनाउन माग गर्दै ‘गैरदलीय स्थानीय तह निर्माण अभियान’ले नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई ज्ञापनपत्र बुझाएको छ।
शुक्रबार अभियानका प्रतिनिधिहरूले सभापति थापालाई भेटेर स्थानीय तहमा बढ्दो दलीयकरण, पार्टीगत हस्तक्षेप र राजनीतिक कब्जा अन्त्य गर्न कांग्रेसले महत्वपूर्ण भूमिका खेल्नुपर्ने माग गरेका हुन्।
ज्ञापनपत्र बुझाउने क्रममा अभियानका तर्फबाट दिनेश सुवेदीले नेपालको संविधानले स्थानीय तहलाई दलीय आधारमै निर्माण गर्नुपर्ने अनिवार्यता नगरेको विषयमा सभापति थापाको ध्यानाकर्षण गराएका थिए। संविधानले स्थानीय तहलाई अनिवार्य रूपमा दलीय बनाउनुपर्ने व्यवस्था नगरे पनि पछि कानुन संशोधन गरेर स्थानीय तहमा दलीय प्रतिस्पर्धाको व्यवस्था गरिएको उनको भनाइ थियो।
उनले स्थानीय तहका हरेक क्षेत्रमा राजनीतिक दलहरूको प्रभाव र पार्टीगत कब्जा बढ्दै जानु उचित नभएको उल्लेख गर्दै स्थानीय सरकारलाई जनताको आवश्यकता र विकासका मुद्दामा केन्द्रित बनाउन दलीयकरण अन्त्य गर्नुपर्ने धारणा राखेका थिए।
अभियानले स्थानीय तहलाई राजनीतिक दलको प्रभावबाट मुक्त गरी स्वतन्त्र, निष्पक्ष र जनउत्तरदायी बनाउने उद्देश्यले विभिन्न राजनीतिक दलका नेतृत्वसँग छलफल तथा संवाद गर्दै आएको जनाएको छ।
सभापति थापाले यस विषयलाई ‘अत्यन्तै सकारात्मक’ रूपमा लिएको अभियानले जनाएको छ। थापाले आफूले पनि स्थानीय तहलाई दलविहीन बनाउने अवधारणाबारे निरन्तर छलफल गरिरहेको र नेपाली कांग्रेस यस विषयप्रति अत्यन्तै सकारात्मक रहेको बताएका थिए।
उनले आगामी दिनमा यस विषयमा पुनः छलफल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेको अभियानले जनाएको छ।
अभियानका अनुसार स्थानीय तहको दलीयकरण अन्त्य गर्ने विषयमा सभापति थापाले सकारात्मक धारणा राखेपछि अभियानका प्रतिनिधिहरूले आगामी दिनमा पनि यस मुद्दालाई राजनीतिक तथा सार्वजनिक बहसमा निरन्तर उठाउने बताएका छन्।
अभियानले व्यस्त कार्यतालिकाका बीच समय दिएर विषयमा सकारात्मक संवाद गरेको भन्दै सभापति थापालाई धन्यवादसमेत दिएको छ।
ज्ञापनपत्र बुझाउने क्रममा अभियानका तर्फबाट अधिवक्ता डा. प्रकाश अधिकारी, अधिवक्ता तिलकबहादुर रिजाल, अधिवक्ता नरेश श्रेष्ठ र अभियन्ता नवराज लामिछाने सहभागी थिए।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा