सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १५ पौष । राजनीतिक दलहरूले रोजगारी अनुमति प्रणाली (ईपीएस)को फाराम भर्ने विषय लिएर शुक्रबार ललितपुरको बालकुमारी र ग्वार्को क्षेत्रमा भएको प्रदर्शनमा दुई युवाले ज्यान गुमाएपछि सरकारको चर्को आलोचना गरेका छन् ।
उनीहरूले सरकारको आलोचना गर्दै घटना संलग्न प्रहरीलाई कारबाही, पीडित परिवारलाई रोजगारी, क्षतिपूर्तिलगायतका माग सम्बोधन गर्नुपर्ने मागसमेत उनीहरूले गरेका छन् । सामाजिक सञ्जालमा राजनीतिक दलका नेतादेखि सर्वसाधारणले सरकारले चर्को आलोचना गरिरहेका छन्् ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बालकुमारी घटनामा परेर मृत्यु भएका व्यक्तिका परिवारका अन्य सदस्यलाई रोजगारी र राहत दिन माग गरेका गरेका छन् । ‘कोरिया जाने तयारीमा रहेका सन्तानको हत्याबाट आहत परिवारका अन्य सदस्यलाई सरकारले रोजगारी र राहत दिनुपर्छ,’ ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
उनले छानबिन समिति बनाउने र छानबिनको प्रतिवेदन घर्रामा थन्क्याउने गल्ती नहोस् भन्दै सरकारलाई चेतावनी दिँदै दुई जनाको ज्यान जानेगरी भएको घटनाका दोषीलाई तत्काल कारबाही गर्नुपर्ने मागसमेत गरेका छन् ।
साथै उनले आफ्नो कमजोरी लुकाउन बल प्रयोग गर्ने सरकारको शैली निन्दनीय भएको टिप्पणी उनले गरेका छन् । बल प्रयोग मात्रै समस्याको समाधान नभएको र समाधानमा अनुत्तरदायी हु्ने सरकारको शैलीको उनले आलोचना गरेका छन् ।
‘बालकुमारी घटनामा होनहार दुई जना नवयुवकको ज्यान गयो, बल प्रयोग समस्याको समाधान होइन, समस्या समाधानमा अनुत्तरदायी रहने र आफ्नो कमजोरी लुकाउन बल प्रयोग गर्ने सरकारको शैली निन्दनीय छ । घटनाको तत्काल छानबिन गरी दोषीलाई कारबाही गर, ज्यान गुमाउने युवाप्रति भावपूर्ण श्रद्धाञ्जली र परिवारजनमा गहिरो समवेदना, अब यस्तो कहिल्यै नहोस्,’ ओलीले भनेका छन् ।
ईपीएस परीक्षा दिन नपाएपछि युवाले ललितपुरको बालकुमारीमा गरेको प्रदर्शनमा दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो । केही प्रदर्शनकारी घाइतेसमेत भएका थिए । रावतको प्रहरीको कुटपिटबाट ज्यान गएको थियो भने शाहको गोली लागेर ज्यान गएको थियो । दुवै जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोहीबीच बालकुमारी क्षेत्रबाट आउँदै गरेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडी रोकेर आगो लगाएपछि स्थिति तनावपूर्ण बनेको थियो । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले बालकुमारीमा दुई जनाको ज्यान जानेगरी भएको घटनाप्रति आपत्ति जनाएका छन् ।
नेता भण्डारीले बालकुमारी घटनाप्रति आपत्ति जनाउँदै यो देश कोरिया जान फर्म भर्न पाऊँभन्दा मर्नुपर्ने देश हो ? भन्दै प्रश्न गरेसमेत गरेका छन् । उनले अहिले समाजमा असामाजिक गतिविधिसमेत बताउँदै भनेका छन्, ‘अहिले समाजमा के भइरहेको छ ? शुक्रबार मात्रै बालकुमारीमा दुई जना बच्चा कोरियाको फर्म भर्न पाऊँ भनेर आन्दोलन गर्दा दुर्घटनामा परी मृत्यु भएको छ । के यो देश कोरिया जान फर्म भर्न पाऊँभन्दा मर्नपर्ने देश हो ? प्रश्न यो हो । यति ठूलो जलस्रोत, प्रकृति, स्रोत र साधन छ । कुन ठाउँमा छ, हाम्रो संस्कृतिले आँसुमा पनि मुस्कान दिन्छ ।’
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पोलिटब्युरो सदस्य दिलु पन्तले दुई जना युवाको ज्यान जाने गरी भएको घटनाको छानबिन गरी दोषीलाई हदैसम्मको कारबाही गर्नुपर्ने बताइन् । साथै पीडित परिवारलाई क्षतिपूर्ति, परिवारका अन्य सदस्यलाई सरकारले रोजगारी दिनुपर्ने उनले बताइन् ।
यसैबीच, जनता समाजवादी पार्टी नेपाल (जसपा)ले बालकुमारी घटनाका दोषीमाथि हदैसम्मको कारबाही गर्न माग गरेको छ । शनिबार एक विज्ञप्ति जारी गर्दै जसपाका प्रवक्ता मनीष सुमनले शुक्रबार दुई जनाको ज्यान जानेगरी भएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि हदैसम्मको कारबाही गर्न माग गरेको हो ।
रोजगार अनुमति प्रणाली परीक्षामा आवेदन दिन पाउनुपर्ने माग गर्दै युवाले गरेको प्रदर्शनका क्रममा एक जनाको गोली लागेर र अर्का एक जनाको कुटपिटबाट मृत्यु भएको थियो ।
सो घटनाले स्तब्ध बनाएको भन्दै जसपाले मुलुकमा विद्यमान गरिबी र बेजरोजगारीको समस्याले नेपाल विदेशिनुपर्ने बाध्यता र मुलुकभित्रै रोजगारी सिर्जना गर्न नसक्नु राज्यको कमजोरी भएको बताएको छ । यस्तै, सो घटनाका पीडितलाई क्षतिपूर्ति मिलाउन र घाइतेको उपचारको व्यवस्था मिलाउन पनि माग गरेको छ ।
यसैगरी, आमजनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले बालकुमार घटनाको प्रति दुःख व्यक्त गरेका छन् । मन्त्रीको गाडीमा आगलगी गरेबापत ज्यान लिनुपर्ने घटनाले सरकार निरंकुशताको पथमा अग्रसर रहेको र पार्टीका राजाको मतिभ्रष्ट भएको पुष्टि भएको ठहर उनको छ ।
आजपा अध्यक्ष साहले राज्यको बेथितिबाट पीडÞित भएका युवा आफ्नो हकका लागि आन्दोलन गर्दा ललितपुरको बालकुमारीमा प्रहरीको गोलीबाट दुई जना युवकको मृत्यु दुःखद भएको जनाएका छन् ।
‘अन्यायमा परेका बेरोजगार युवालाई प्रोत्साहन गर्नुको सट्टा सरकारले गोलीको सिकार बनाउनु खेदजनक हो । यस दुःखद घटनाको जति भत्र्सना गरे कमै हुन्छ । मन्त्रीको गाड़ीमा आगलगी गरेबापत ज्यान लिनुपर्ने घटनाले सरकार निरंकुशताको पथमा अग्रसर रहेको र पार्टीका राजाहरूको मतिभ्रष्ट भएको पुष्टि गर्छ,’ अध्यक्ष साहले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
२१औं शताब्दीको गणतन्त्रमा भएको यो कहालीलाग्दो हत्याकाण्डका दोषी प्रहरी एवं अफिरलाई कारबाही गर्न तथा पीडि़त परिवारलाई तत्काल राहतस्वरूप आवश्यक क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग आजपाले जोड़दार माग गरेको छ ।
‘राज्यको बेथितिबाट पीडि़त भएका युवा आफ्नो हकका लागि आन्दोलन गर्दा हिजो ललितपुरको बालकुमारीमा प्रहरीको गोलीबाट दुई जना युवकको मृत्युको विषयमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । सर्वप्रथम यस घटनाका मृतकप्रति भावपूर्ण श्रद्धाञ्जलीसहित शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्छाैं,’ आजपाले भनेको छ ।
यता सरकारले ईपीएसको फाराम भर्ने विषयलाई लिएर शुक्रबार ललितपुरको बालकुमारी र ग्वार्को क्षेत्रमा भएको प्रदर्शनमा परेर ज्यान गुमाएका सुजन राउत र वीरेन्द्र शाहका परिवारलाई सरकारले १०÷१० लाख उपलब्ध गराउने भएको छ ।
शुक्रबारको घटनापछि शनिबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली र शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
बालकुमारी घटनाका घाइतेको स्वास्थ्य लाभको कामना पनि सरकारले गरेको छ । घाइतेको सम्पूर्ण उपचार खर्च पनि गर्ने निर्णय गरेको छ । त्यसबापतको रकम अर्थ मन्त्रालयले गृह मन्त्रालयलाई दिने निर्णय भएको शर्माले बताइन् । यो खबर आजको राजधानि दैनिकले छापेको छ ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा