सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
आकांक्षा धामी / नागढुंगा (काठमाडौं) । नागढुंगा सुरुङमार्ग सञ्चालमा आएदेखि हालसम्म ५१ लाख ८७ हजार रुपैयाँ संकलन भएको छ । सुरुङमार्ग कात्तिक १५ गते आइतबारदेखि सञ्चालनमा आएको थियो । नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका अनुसार सुरुङमार्ग सञ्चालनमा आएयता दैनिक ८ हजारको हाराहारीमा सवारी साधन यो सुरुङमार्गबाट आवजावत गरेका छन् ।
आयोजनाका उपआयोजना निर्देशक तथा सूचना अधिकारी सञ्जय पन्थीका अनुसार पाँच दिनमा सवारीसाधनको चाप बढ्दै गएको छ ।
नेपाल न्यूज बैंकसँग कुरा गर्दै पन्थीले भने, ‘पहिलो दिन आइतबार करिब सात हजार ५०० सवारीसाधनले सुरुङमार्ग प्रयोग गरेका थिए । त्यसयता दैनिक सवारीसाधनको संख्या बढेर आठ हजारको हाराहारीमा पुगेको छ ।’
उनका अनुसार सुरुङमार्ग सञ्चालमा आएको पहिलो दिन करिब ११ लाख ७० हजार रुपैयाँ, दोस्रो दिन १२ लाख ७१ हजार, तेस्रो दिन १३ लाख १५ हजार, चौथो दिन १४ लाख ३१ हजार रकम संकलन भएको छ ।
उनले भने, ‘दोस्रो दिन १२ लाख ७१ हजार, तेस्रो दिन १३ लाख १५ हजार, चौथो दिन १४ लाख ३१ हजार रकम संकलन भएको छ । आजको पाँचै दिनको राति १२ बजे मात्रै आउँछ ।’
पाँचौँ दिनको पूर्ण विवरण भने संकलन प्रक्रिया पूरा भएपछि मात्रै प्राप्त हुने उनले बताए । उनका अनुसार पाँचौँ दिनको विवरण राति १२ बजेपछि मात्रै अद्यावधिक हुने भएकाले तत्काल यकिन तथ्यांक उपलब्ध हुन सकेको छैन ।
टोल दस्तुर संकलन सुरु भएपछि केही सवारीचालकबाट भने समस्या देखिएको आयोजनाले जनाएको छ । विशेषगरी भारतीय नम्बर प्लेटका केही सवारीसाधनले तत्काल शुल्क तिर्न रकम नभएको बताउने र पछि शुल्क तिर्ने गरी अन्यत्र जान खोज्दा केही समय अवरोध हुने गरेको पन्थीले बताए ।
त्यस्ता घटनाका कारण कहिलेकाहीँ सवारीसाधनको लाम लाग्ने र जाम हुने समस्या देखिएको उनको भनाइ छ ।
उनले भने, ‘केही भारतीय नम्बर प्लेटका सवारीसाधनले शुल्क तिर्न पैसा नभएको बताउने गरेका छन् । उनीहरू टोलबाट डाइभर्ट हुन खोज्दा र पछि रकमको व्यवस्था गरेर शुल्क तिर्दा समय लाग्ने गरेको छ । त्यसले गर्दा केही समय जामको समस्या पनि हुने गरेको छ । नत्र अहिले अधिकांशले सहज रूपमा शुल्क तिरिरहनुभएको छ । अहिले त सबैलाई शुल्कबारे जानकारी भइसकेको छ । धेरैजसो चालकले शुल्क तिर्ने रकम पहिले नै तयारी अवस्थामा राखेर दिनुहुन्छ । यसो गर्दा शुल्क संकलनको काम छिटो हुन्छ र जामको समस्या पनि कम हुँदै गएको छ ।’
यद्यपि अधिकांश सवारीचालकले शुल्क तिर्न आवश्यक रकम पहिले नै तयारी अवस्थामा राख्ने गरेकाले दस्तुर संकलन सहज हुँदै गएको उनले बताए ।
पछिल्ला दिनमा सुरुङमार्ग प्रवेश गर्ने स्थानमा सवारीसाधनको लाम लाग्ने समस्या पनि घट्दै गएको आयोजनाको भनाइ छ । पन्थीका अनुसार पाँचौँ दिन बिहान अघिल्ला दिनको तुलनामा सवारीसाधनको लाम निकै कम देखिएको थियो ।
सवारीसाधनको चाप व्यवस्थापन र शुल्क संकलनलाई सहज बनाउन विद्युतीय टोल भुक्तानी प्रणालीको प्रयोग बढाउने तयारी गरिएको छ । यसका लागि एनट्याग वितरण सुरु भइसकेको पन्थीले जानकारी दिए । उनका अनुसार कुमारी बैंकले सातवटै प्रदेशमा एनट्याग पठाइसकेको छ । ई–सेवाका आधिकारिक विक्रेतामार्फत पनि एनट्याग उपलब्ध हुने व्यवस्था मिलाइएको छ ।
उनले भने, ‘जामको मुख्य समस्या समाधान गर्न कुमारी बैंकले एनट्याग कार्ड वितरण सुरु गरिसकेको छ । बैंकले सातवटै प्रदेशमा एनट्याग पठाइसकेको छ । त्यस्तै, ई–सेवाका आधिकारिक विक्रेताहरूसँग पनि सम्झौता गरी उनीहरूमार्फत एनट्याग उपलब्ध गराउने व्यवस्था गरिएको छ । अब दैनिक रूपमा सवारीसाधन चलाउने चालकले एनट्याग लिएर प्रयोग गर्नुभयो भने जामको समस्या पूर्ण रूपमा हट्छ ।’
दैनिक रूपमा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले एनट्याग प्रयोग गरेमा शुल्क संकलनमा लाग्ने समय घट्ने र सवारीसाधनको लाम तथा जामको समस्या कम हुने आयोजनाको अपेक्षा छ ।
पन्थीले नियमित रूपमा सुरुङमार्ग प्रयोग गर्ने सवारीचालकलाई एनट्याग लिन आग्रह गर्दै यसको प्रयोगबाट टोल दस्तुर भुक्तानी छिटो र सहज हुने बताए ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा