सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । १७ वर्षीया किशोरीको गैरकानुनी रूपमा डिम्ब (अण्डा) निकालेको घटनामा संलग्न रहेको आरोप लागेकी डा. नूतन शर्मासँग प्रहरीले बयान लिएको छ।
जिल्ला प्रहरी परिसर ललितपुरले डा. शर्मालाई नियन्त्रणमा लिएर बयान लिएपछि हाजिर जमानीमा रिहा गरेको हो। पछिल्लो समय फिलिपिन्स गएकी उनी स्वदेश फर्किएपछि निवेदन दिँदै बिहीबार प्रहरी परिसरमा उपस्थित भएकी थिइन्।
त्यसै दिन उनलाई सरकारी वकिलको कार्यालयमा लगेर बयान लिइएको थियो। प्रहरी स्रोतका अनुसार बयानका क्रममा डा. शर्माले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै इन्कारी बयान दिएकी छन्।
गत असार १४ गते ललितपुरको ग्वार्कोस्थित बीएण्डबी अस्पतालको आईभीएफ सेन्टरमा ती किशोरीको डिम्ब निकालिएको आरोप छ। किशोरीलाई डिम्ब निकाल्न लगाउन बिचौलियाको भूमिका खेलेको आरोपमा प्रहरीले यसअघि नै लमजुङ घर भई इमाडोलमा ब्युटिसियनको काम गर्ने राधिका गोतामेलाई पक्राउ गरिसकेको छ।
प्रहरी अनुसन्धानका क्रममा किशोरीलाई ३० हजार रुपैयाँ दिएर डिम्ब निकालिएको खुलेको बताइएको छ। डिम्ब निकालेपछि किशोरीको स्वास्थ्यमा समस्या देखिएपछि मात्रै परिवारले घटनाबारे जानकारी पाएको थियो।
पीडित परिवारले साउन १ गते जिल्ला प्रहरी परिसर ललितपुरमा चिकित्सक र बिचौलियाविरुद्ध जाहेरी दिएका थिए। डा. शर्मालाई पक्राउ गर्न प्रहरीले यसअघि दुई पटक अदालतसँग अनुमति मागे पनि अनुमति पाउन सकेको थिएन।
पक्राउ अनुमति नपाएपछि सरकारी वकिलको सहमतिमा डा. शर्मा र बिचौलिया गोतामेलाई हाजिर जमानीमा राखेर थप प्रमाण जुटाउन प्रहरीलाई निर्देशन दिइएको छ।
ललितपुर प्रहरीले सरकारी वकिल कार्यालयको सहमतिमा डा. शर्मालाई हाजिर जमानीमा छाडिए पनि घटनाको अनुसन्धान भने जारी रहेको जनाएको छ।
प्रहरीले घटनामा अन्य व्यक्तिको संलग्नता तथा यससँग सम्बन्धित कानुनी पक्षबारे समेत थप अनुसन्धान गरिरहेको जनाएको छ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा