सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । चार महिनादेखि झापाको दमक नगरपालिका–९ स्थित निवासमा बस्दै आएका पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार काठमाडौं फर्किएका छन्। उनी कैलाश एयर को हेलिकप्टरमार्फत काठमाडौं आएका हुन्।
यसअघि उनी बुद्ध एयर को नियमित उडानमार्फत राजधानी फर्किने तयारीमा रहेका थिए। तर मौसम प्रतिकूल भई उडान ढिलाइ हुने भएपछि अन्तिम समयमा हेलिकप्टर चार्टर गरेर काठमाडौं आएका स्रोतले जनाएको छ।
विमानस्थलमा राजावादीहरूको प्रदर्शन
पूर्वराजाको आगमनलाई लक्षित गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र विभिन्न राजावादी तथा हिन्दुराष्ट्र पक्षधर समूहहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा स्वागत कार्यक्रमको तयारी गरेका थिए। बिहानैदेखि विमानस्थल बाहिर समर्थकहरूको बाक्लो उपस्थिति देखिएको थियो।
समर्थकहरूले राष्ट्रिय झण्डा बोकेर राजसंस्था पुनःस्थापनाको पक्षमा नारा लगाएका थिए। ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईं समेत विमानस्थल गेटमा पुगेर झण्डा हल्लाउँदै पूर्वराजाको स्वागत गरेका थिए।
प्रशासनको निषेधाज्ञा
कार्यक्रमबाट सुरक्षा चुनौती उत्पन्न हुन सक्ने आकलन गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौं ले विमानस्थल र आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो। आदेशअनुसार एक महिनासम्म पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन वा सभा गर्न प्रतिबन्ध लगाइएको छ।
प्रशासनले यात्रुको सहज आवागमन र विमानस्थल सुरक्षा संवेदनशीलता ध्यानमा राखी यस्तो निर्णय गरिएको जनाएको छ। निषेधाज्ञा कार्यान्वयनका लागि ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो।
निषेधाज्ञाबीच प्रदर्शन
यद्यपि, राप्रपाका शीर्ष नेताहरू र दुर्गा प्रसाईंले निषेधाज्ञा नमान्ने सार्वजनिक अभिव्यक्ति दिएका थिए। उनीहरूले समर्थकहरूलाई विमानस्थल क्षेत्रमा उपस्थित हुन आह्वान गरेपछि निषेधाज्ञाका बाबजुद केही समूहले नाराबाजी र प्रदर्शन जारी राखेका थिए।
सुरक्षाकर्मीहरूले भीड नियन्त्रण गर्न घेराबन्दी गर्दै अवस्था सामान्य बनाउने प्रयास गरेका थिए। हाल विमानस्थल क्षेत्रमा सुरक्षा सतर्कता उच्च पारिएको छ।
पूर्वराजा शाह काठमाडौं फर्किएसँगै राजावादी गतिविधि पुनः सक्रिय हुने संकेत देखिएको छ। राजनीतिक वृत्तमा यस घटनालाई आगामी दिनमा विकसित हुने गतिविधिसँग जोडेर हेरिएको छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा