सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख सल्लाहकार कुमार बेनलाई पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै प्रहरीमा जाहेरी परेको छ ।
प्रहरी हिरासतमा रहेका इनम सापकोटाको मोबाइलबाट प्रमाण मेटाएको र अनुसन्धान प्रभावित पारेको आरोप लगाउँदै नेपाली कम्युनिष्ट पार्टी निकट योङ कम्युनिष्ट लिग (वाईसीएल) का केन्द्रीय सचिव धनबहादुर वलीले जाहेरी दिएका हुन् ।
वलीले हुलाकमार्फत जिल्ला प्रशासन कार्यालय काठमाडौं, जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं र जिल्ला प्रहरी परिसर काठमाडौंमा एकैसाथ जाहेरी पठाएका छन् । यसअघि सोमबार काठमाडौं प्रहरी परिसर पुगेर जाहेरी दिन खोज्दा प्रहरीले लिन अस्वीकार गरेपछि उनले हुलाकमार्फत तीनवटै निकायमा पठाएका हुन् ।
जाहेरीमा कुमार बेनसहित केही व्यक्तिको संलग्नतामा सापकोटाको मोबाइलबाट आफूसँग सम्बन्धित प्रमाण मेटाउने र अनुसन्धान प्रभावित पार्ने काम भएको आरोप लगाइएको छ । प्रहरी नियन्त्रणमा लिएपछि सापकोटाको मोबाइल विभिन्न स्थानमा पुर्याइएको दाबीसमेत जाहेरीमा गरिएको छ ।
वलीले मोबाइल कहाँ–कहाँ पुर्याइएको थियो भन्ने विवरणसहित फरेन्सिक ल्याबको परीक्षण प्रतिवेदन पनि प्रमाणका रूपमा पेस गरेका छन् ।
जाहेरीमा उल्लेख भएअनुसार असोज १५ गते दिउँसो ४ बजेर ३० मिनेट ४५ सेकेन्डमा सापकोटाको मोबाइल सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुर्याइएको थियो । त्यसको करिब ४० मिनेटपछि साँझ ५ बजेर १० मिनेट १८ सेकेन्डमा सिंहदरबारको दक्षिण गेट हुँदै बाहिर लगिएको र ५ बजेर २५ मिनेट ५ सेकेन्डमा ललितपुरको कुपण्डोलस्थित ज्वागलमा रहेको बेनको घरमा पुर्याइएको दाबी जाहेरीमा गरिएको छ ।
यस प्रकरणमा प्रधानमन्त्रीको सचिवालयका विशाल अधिकारीको भूमिकामाथि पनि प्रश्न उठाइएको छ । अधिकारी प्रहरीको सोधपुछ कक्षमै पुगेर सापकोटामाथि भइरहेको अनुसन्धानबारे कुराकानी गरेको भिडियो सार्वजनिक भएको वलीको जाहेरीमा उल्लेख छ ।
त्यस्तै, प्रधानमन्त्रीको सचिवालयका चिराग श्रेष्ठ र गृहमन्त्रीको सचिवालयका जेम्स कार्कीको संलग्नतामाथि पनि अनुसन्धान गर्न माग गरिएको छ । उनीहरूमाथि प्रमाण नष्ट गरेको तथा अनुसन्धान प्रभावित पारेको आरोप जाहेरीमा लगाइएको छ ।
वलीले मोबाइलको आवागमन, फरेन्सिक परीक्षणबाट देखिएका विवरण र घटनामा जोडिएका भनिएका व्यक्तिहरूको भूमिकाबारे निष्पक्ष अनुसन्धान गर्न माग गरेका छन् ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा