सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको संसदीय दलको बैठकमा सांसद र मन्त्रीबीच सरकारको काम, कार्यशैली र आपसी समन्वयबारे गम्भीर छलफल भएको छ।
बैठकमा सांसदहरूले केही मन्त्रीको कार्यशैलीमाथि प्रश्न उठाउँदै प्रचारमुखी र ‘स्टन्टबाजी’भन्दा परिणाममुखी काममा ध्यान दिन आग्रह गरेका छन्। काम गर्न नसक्ने मन्त्रीले पदमा बसिरहनुभन्दा मार्ग प्रशस्त गर्नुपर्ने आवाजसमेत बैठकमा उठेको थियो।
रास्वपा दलका उपनेता गणेश पराजुलीका अनुसार बैठकमा सांसदको संसदीय मर्यादा तथा मन्त्रीहरूको काम र कार्यशैलीबारे अन्तरक्रिया भएको थियो। सांसद र मन्त्रीबीच सहकार्य तथा समन्वयमा समस्या देखिएपछि सभापति लामिछानेले बैठक बोलाएका हुन्।
बैठकमा अधिकांश मन्त्री सहभागी भए पनि दलका नेता तथा प्रधानमन्त्री वालेन्द्र शाह, भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल र शिक्षामन्त्री सस्मित पोखरेल अनुपस्थित रहे।
सांसदहरूले सरकारका मन्त्रीहरूलाई जनताले प्रत्यक्ष परिणाम खोजिरहेको भन्दै काम गर्न नसके पद छाड्नुपर्ने बताएका थिए। विशेषगरी ग्यासको आपूर्ति, वितरण र बजार अनुगमनमा देखिएको समस्याबारे प्रश्न उठाइएको थियो।
सांसदहरूले बजारमा ग्यासको आपूर्ति बढेको भनिए पनि उपभोक्ताले अझै अभाव र कालोबजारीको सामना गरिरहेको भन्दै प्रभावकारी अनुगमन गर्न माग गरे।
‘मन्त्रीहरूले काम गर्दै छु भनेर मात्र हुँदैन, परिणाम देखिनुपर्छ। काम गर्न सकिएन भने सकिनँ भन्नुपर्छ, सक्षम व्यक्तिलाई जिम्मेवारी दिनुपर्छ,’ बैठकमा सांसदहरूले भनेका थिए।
बैठकमा भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल, उद्योग तथा आपूर्तिमन्त्री गौरीकुमारी यादव र गृहमन्त्री सुधन गुरुङको कार्यशैलीमाथि विशेष प्रश्न उठाइएको थियो।
सांसदहरूले मन्त्रीहरूले आफ्नो अधिकार क्षेत्रको कामलाई प्राथमिकता दिनुपर्ने र प्रदेश तथा स्थानीय तहको अधिकार क्षेत्रमा अनावश्यक हस्तक्षेप गर्न नहुने बताएका थिए।
‘आफ्नो कार्यक्षेत्रभन्दा बाहिर गएर काम गर्नुभन्दा परिणाममुखी काममा ध्यान दिनुपर्छ। स्टन्टबाजी र प्रचारबाजीभन्दा जनताले अनुभूति गर्ने काम आवश्यक छ,’ सांसदहरूको भनाइ थियो।
बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सञ्चालन गरिरहेको करदाता प्रोत्साहन कार्यक्रमबारे पनि सांसदहरूले प्रश्न उठाएका थिए।
अर्थमन्त्रीले कार्यक्रमको सुरुवात गरेपछि त्यसलाई सम्बन्धित निकायलाई जिम्मा दिएर अन्य महत्वपूर्ण आर्थिक विषयमा ध्यान केन्द्रित गर्नुपर्ने सुझाव सांसदहरूले दिएका थिए।
मन्त्रीहरूको कार्यशैलीबारे छलफलका क्रममा केही सांसदले मन्त्रीहरू प्रचार र स्टन्टबाजीमा बढी केन्द्रित भएको आरोप लगाए।
‘मन्त्रीहरू धेरै घुमफिरमा व्यस्त भएको देखिन्छ। बिरामी जनता उपचार नपाएर तड्पिरहेका छन्। मन्त्रीहरूको मोजमस्ती बढी भयो कि भन्ने प्रश्न उठिरहेको छ,’ सांसदहरूले भनेका थिए।
उनीहरूले क्यामराअगाडि केही बोलेर मात्र सरकारको काम प्रभावकारी नहुने भन्दै परिणाम देखिने गरी काम गर्न मन्त्रीहरूलाई आग्रह गरे।
सभापति रवि लामिछानेले पनि मन्त्री र सांसदहरूलाई प्रचारमुखी गतिविधिभन्दा परिणाममुखी काममा केन्द्रित हुन निर्देशन दिएका छन्।
उनले रास्वपाका केही मन्त्री र सांसदको व्यवहारप्रति जनस्तरबाट गुनासो आएको भन्दै सबैले आफ्नो कार्यशैली सुधार्नुपर्ने बताए।
‘हामी परिणाम दिन आएका हौँ, स्टन्ट र प्रचार गर्न होइन,’ लामिछानेले बैठकमा भनेका थिए।
उनले सांसद र मन्त्रीहरूलाई आपसी समन्वय बढाउन, संसदीय मर्यादा कायम राख्न तथा आफ्ना गतिविधि पारदर्शी बनाउन निर्देशन दिए।
बैठकमा केही सांसदको व्यवहार र संसदीय प्रस्तुतिबारे पनि प्रश्न उठेको थियो। विवादमा आएका सांसदहरूलाई आफ्नो व्यवहार सच्याउन सभापति लामिछानेले निर्देशन दिएका थिए।
उनले सांसदहरूले सदनमा बोल्ने विषय, पार्टीसँगको समन्वय र सार्वजनिक गतिविधिमा जिम्मेवार बन्नुपर्ने बताए।
लामिछानेले पार्टीले सार्वजनिक गरेको ‘आरएसपी पल्स’ एपमा सांसद तथा मन्त्रीहरूले आफ्ना गतिविधि अपडेट गर्नसमेत निर्देशन दिएका छन्। संसद्मा बोल्ने विषय, भ्रमण, भेटघाटलगायतका गतिविधि पारदर्शी रूपमा राख्न उनले आग्रह गरेका थिए।
बैठकमा मन्त्रीहरूले भने सरकारका सकारात्मक काम जनतासम्म पुर्याउन सांसदहरूले पनि भूमिका खेल्नुपर्ने बताएका थिए।
गृहमन्त्री सुधन गुरुङ, कानुनमन्त्री सोविता गौतम र अर्थमन्त्री वाग्लेलगायतले सरकारका राम्रा कामबारे जनतालाई जानकारी गराउन सांसदहरूको पनि जिम्मेवारी रहेको बताएका थिए।
उनीहरूले सांसदहरूका निर्वाचन क्षेत्रमा देखिएका समस्या र गुनासा सिधै मन्त्रीहरूसमक्ष राख्न आग्रह गर्दै आपसी संवादबाट समाधान खोज्न सकिने बताएका थिए।
बैठकले रास्वपाको संसदीय दलको विधान परिवर्तनका लागि प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा समिति गठन गर्ने निर्णयसमेत गरेको छ।
बैठकमा भएको छलफलले रास्वपाभित्र मन्त्री र सांसदबीचको समन्वय, मन्त्रीहरूको कार्यसम्पादन तथा पार्टीका जनप्रतिनिधिको सार्वजनिक व्यवहारलाई थप व्यवस्थित बनाउने विषयलाई प्राथमिकतामा राखेको देखिएको छ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा