सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
गोरखा । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘रेजिङ द बार, रिडिफाइनिङ सक्सेस’ नारासहित आयोजना गरेको चारदिने ब्रान्च म्यानेजर्स कन्फरेन्स सम्पन्न गरेको छ।
गोरखाको मनकामनास्थित होटल मनकामना हिलक्रेस्ट रिसोर्टमा आयोजित सम्मेलनमा कम्पनीको व्यवसाय विस्तार, आगामी व्यावसायिक रणनीति, प्रतिस्पर्धात्मक बीमा बजारका चुनौती तथा कर्मचारीको क्षमता अभिवृद्धिलगायतका विषयमा छलफल तथा प्रशिक्षण गरिएको थियो।
कम्पनीकी अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहको सभापतित्वमा आयोजित औपचारिक कार्यक्रम दीप प्रज्वलन गरी उद्घाटन गरिएको थियो। कार्यक्रममा अध्यक्ष सिंहले जीवन बीमा व्यवसाय दिनप्रतिदिन प्रतिस्पर्धात्मक बन्दै गएकाले त्यसअनुसार आफूलाई तयार गर्दै व्यवसाय प्रवर्द्धन गर्नुपर्ने आवश्यकता रहेको बताइन्।
उनले कर्मचारीको क्षमता अभिवृद्धिका लागि आवश्यक तालिम तथा प्रशिक्षण प्रदान गर्न कम्पनी निरन्तर अग्रसर रहेको बताउँदै पछिल्लो समय विश्वभर चर्चामा रहेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई)ले जीवन बीमा व्यवसायमा महत्वपूर्ण योगदान पुर्याउन सक्ने धारणा राखिन्। कम्पनीले एआईसम्बन्धी प्रशिक्षणमार्फत डिजिटल मार्केटिङलाई थप प्रभावकारी बनाउनेतर्फ ध्यान दिनुपर्नेमा उनले जोड दिइन्।
कम्पनीले मानव संसाधनमा निरन्तर लगानी गर्दै कर्मचारीको वृत्ति विकासमा योगदान पुर्याउँदै आएको उल्लेख गर्दै अध्यक्ष सिंहले आगामी दिनमा पनि यस्तो लगानीलाई निरन्तरता दिने बताइन्। कर्मचारीको अधिकतम प्रयास र आपसी समन्वयबाट कम्पनीको व्यावसायिक उचाइ थप बढ्ने विश्वाससमेत उनले व्यक्त गरिन्।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेश प्रसाद खत्रीले स्वागत मन्तव्य व्यक्त गर्दै नयाँ आर्थिक वर्षको सुरुवातसँगै नयाँ यात्रा, संकल्प र अवसरको सुरुवात भएको बताए। उनले नयाँ आर्थिक वर्ष केवल क्यालेन्डर परिवर्तनको दिन नभई सोच, प्रतिबद्धता र भविष्यलाई अझ उचाइमा पुर्याउने संकल्प गर्ने अवसर भएको धारणा राखे।

सम्मेलनमा कम्पनीका विभागीय प्रमुखसहित देशभरका प्रदेश प्रमुख, शाखा प्रमुख तथा मार्केटिङ कर्मचारी गरी २०० भन्दा बढीको सहभागिता रहेको थियो।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक शम्भराज लामिछानेले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी प्रशिक्षण दिएका थिए। जीवन बीमाको माध्यमबाट समेत सम्पत्ति शुद्धीकरण हुने सम्भावना बढ्दै गएकाले कम्पनीमा कार्यरत सबै तहका कर्मचारी यस विषयमा विशेष चनाखो र जिम्मेवार हुनुपर्नेमा उनले जोड दिए।
त्यस्तै, कर्मचारीलाई प्रविधिमा दक्ष बनाउने उद्देश्यले एआईसम्बन्धी प्रशिक्षक विश्वराज पौडेलले विशेष प्रशिक्षण दिएका थिए। उनले एआईका विभिन्न उपकरण तथा तिनको प्रयोगबारे जानकारी दिँदै एआईको प्रयोगबाट डिजिटल माध्यममार्फत बीमा व्यवसायको प्रभावकारी मार्केटिङ कसरी गर्न सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिएका थिए।
प्रतिस्पर्धात्मक बीमा बजारमा व्यवसाय विस्तारका चुनौती सामना गर्दै व्यावसायिक सफलता हासिल गर्ने विषयमा श्रीलंकाबाट आएका अन्तर्राष्ट्रिय प्रशिक्षक सुरन डी सिल्भाले प्रशिक्षण दिएका थिए। उनले व्यावहारिक उदाहरणसहित बजार विस्तार, व्यवसाय वृद्धि तथा प्रतिस्पर्धामा सफल हुने उपायबारे सहभागीलाई जानकारी गराएका थिए।
सम्मेलनकै अवसरमा आर्थिक वर्ष २०८२/८३ मा शाखा सञ्चालनका विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गर्ने पाँच शाखा कार्यालयलाई सम्मान गरिएको थियो। यस्तै, प्रथम बीमाशुल्क संकलन, सक्रिय अभिकर्ता उत्पादन तथा बीमालेख संख्याका आधारमा उत्कृष्ट तीन–तीन शाखा कार्यालयलाई पनि सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो।
चेयरपर्सन क्लब योजना र सीईओ क्लब योजनामा सबैभन्दा धेरै अभिकर्तालाई छनोट गराउन सफल एक–एक उत्कृष्ट शाखा कार्यालयलाई समेत कम्पनीकी अध्यक्ष सिंहले सम्मान तथा पुरस्कार प्रदान गरिन्।
सम्मेलनमा कर्मचारीको क्षमता विकाससँगै मनोरञ्जन र आपसी सम्बन्ध सुदृढ गर्ने उद्देश्यले विभिन्न सांगीतिक तथा मनोरञ्जनात्मक कार्यक्रम पनि आयोजना गरिएको थियो। पुरुष तथा महिला कर्मचारीको सहभागितामा ब्याडमिन्टन, टेबल टेनिस तथा म्युजिकल चेयरलगायतका खेल सञ्चालन गरिएको थियो। विभिन्न खेलमा उत्कृष्ट हुने कर्मचारीलाई सीईओ सुरेश प्रसाद खत्रीले पुरस्कार प्रदान गरेका थिए।
चारदिने सम्मेलनले कम्पनीको आगामी व्यावसायिक रणनीति तय गर्न सहयोग पुर्याउनुका साथै शाखा तथा केन्द्रीय कार्यालयका कर्मचारीबीच आपसी समन्वय, क्षमता अभिवृद्धि र संस्थागत प्रतिबद्धतालाई थप मजबुत बनाएको कम्पनीले जनाएको छ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा