सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सिरहा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री बब्लु गुप्ता गुडिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि तीव्र आलोचनाको सामना गरिरहेका छन्।
सिरहा–१ बाट निर्वाचित सांसद गुप्ता सार्वजनिक भएको भिडियोमा गुडिरहेको मोटरसाइकलको पछाडिको भागमा उभिएर मोबाइल फोन चलाइरहेको अवस्थामा देखिन्छन्। भिडियोमा उनले हेल्मेटसमेत नलगाएको देखिएपछि सडक सुरक्षा र ट्राफिक नियमको उल्लंघन गरेको भन्दै सामाजिक सञ्जालमा व्यापक आलोचना भएको हो।
सार्वजनिक पदमा रहेका जिम्मेवार व्यक्तिले नै सडक सुरक्षाका आधारभूत नियम बेवास्ता गर्दै जोखिमपूर्ण ढंगले यात्रा गरेको भन्दै धेरैले उनको व्यवहारप्रति आपत्ति जनाएका छन्। सामाजिक सञ्जाल प्रयोगकर्ताले जनप्रतिनिधिले कानुन पालना गरेर नागरिकलाई उदाहरण प्रस्तुत गर्नुपर्ने टिप्पणी गरेका छन्।
विवाद बढेपछि सांसद गुप्ताले आफ्नो गल्ती स्वीकार गरेका छन्। उनले बाइकमा यात्रा गर्ने क्रममा ट्राफिक नियम उल्लंघन भएको स्वीकार गर्दै कानुनी कारबाही भोग्न तयार रहेको बताएका छन्। साथै, सम्बन्धित मोटरसाइकल आवश्यक कारबाहीका लागि ट्राफिक प्रहरी कार्यालय पठाइसकेको जानकारी पनि दिएका छन्।
“बाइक सवारीका क्रममा ट्राफिक नियम उल्लंघन भएको स्वीकार गर्छु। जरिवाना काट्न सवारी ट्राफिक प्रहरी कार्यालय पठाएको छु,” गुप्ताले प्रतिक्रिया दिएका छन्।
यता प्रहरी स्रोतका अनुसार गुप्तामाथि यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ अन्तर्गत लापरबाहीसम्बन्धी कसुरमा कारबाही प्रक्रिया अघि बढाइएको छ। उक्त कानुनी व्यवस्थाअनुसार पहिलोपटक यस्तो कसुर गरेमा ५०० रुपैयाँ, दोस्रोपटक १ हजार रुपैयाँ र तेस्रोपटक १ हजार ५०० रुपैयाँ सम्म जरिवाना हुने प्रावधान छ।
पछिल्लो समय आफ्नै गतिविधिका कारण रास्वपाका केही सांसद विवादमा पर्दै आएका छन्।
यसअघि रास्वपाकी सांसद सृष्टि भट्टराई पनि गुडिरहेको कारको झ्यालबाट आधाभन्दा बढी शरीर बाहिर निकालेर यात्रा गरेको भिडियो भाइरल भएपछि आलोचनामा परेकी थिइन्। त्यस घटनामा पनि उनी ट्राफिक कारबाहीमा परेकी थिइन्।
कारबाहीपछि भट्टराईले आफ्नो गतिविधि सडक सुरक्षा र ट्राफिक अनुशासनका दृष्टिले उपयुक्त नभएको स्वीकार गर्दै भविष्यमा यस्ता गतिविधि नदोहोर्याउने प्रतिबद्धता व्यक्त गरेकी थिइन्।
बब्लु गुप्ताको पछिल्लो घटनाले पुनः जनप्रतिनिधिको जिम्मेवारी, सार्वजनिक आचरण र सडक सुरक्षाप्रति उनीहरूको उत्तरदायित्वबारे बहस चर्काएको छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा