सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । लक्ष्मी सनराइज बैंक र बेलायत सरकारको विकास वित्त संस्था ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट (British International Investment (BII)) बीच २ करोड ५० लाख अमेरिकी डलर बराबरको कर्जा सुविधा सम्झौता सम्पन्न भएको छ। उक्त सहकार्यमार्फत नेपालका लघु, साना तथा मझौला उद्यम (MSMEs) लाई वित्तीय पहुँच विस्तार गर्नुका साथै विशेषगरी महिला उद्यमीलाई प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ।
नेपालको कुल गार्हस्थ्य उत्पादन (GDP) मा MSME क्षेत्रको योगदान करिब २२ प्रतिशत रहेको छ भने यस क्षेत्रले झन्डै २० लाख मानिसलाई रोजगारी प्रदान गर्दै आएको छ। तर विश्व बैंक र नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार औपचारिक वित्तीय प्रणालीमार्फत जम्मा १६ प्रतिशत MSME ले मात्र कर्जा सुविधा प्राप्त गर्न सकेका छन्।
नयाँ लगानीमार्फत लक्ष्मी सनराइज बैंकले MSME क्षेत्रमा दीर्घकालीन कर्जा प्रवाह विस्तार गर्ने जनाएको छ। कुल सुविधाको ३० प्रतिशत हिस्सा महिलाको नेतृत्वमा रहेका व्यवसायका लागि लक्षित गरिने बैंकले जनाएको छ। यसबाट वित्तीय पहुँचबाट वञ्चित व्यवसायीलाई पूँजी उपलब्ध गराई रोजगारी सिर्जना, उद्यमशीलता प्रवर्द्धन तथा समावेशी निजी क्षेत्र विकासमा टेवा पुग्ने विश्वास गरिएको छ।
बैंकले महिलाको आर्थिक सशक्तीकरणलाई प्रोत्साहन गर्ने विश्वव्यापी पहल 2X Challenge अन्तर्गत मान्यता समेत प्राप्त गरेको छ। BII उक्त पहलको संस्थापक सदस्य हो। बैंकको सुशासन, नेतृत्व, रोजगारी तथा कर्जा पोर्टफोलियोमा लैङ्गिक समावेशिताका क्षेत्रमा देखाएको प्रगतिलाई आधार मानी यो मान्यता प्रदान गरिएको जनाइएको छ।
यसैगरी BII को प्राविधिक सहयोग कार्यक्रम ‘Invest for Impact Nepal (IIN)’ ले महिला स्वामित्व तथा नेतृत्व भएका व्यवसायलाई सेवा विस्तार गर्न बैंकलाई सहयोग गर्दै आएको छ। बैंकले आफ्नो वातावरणीय तथा सामाजिक व्यवस्थापन प्रणाली (ESMS) लाई थप सुदृढ बनाउने प्रतिबद्धता समेत जनाएको छ।
बेलायतकी हिन्द–प्रशान्त मामिला तथा समानता मन्त्री सिमा मलहोत्राले नेपाललाई बेलायतको दीर्घकालीन विश्वसनीय साझेदार उल्लेख गर्दै महिला नेतृत्वका साना तथा मझौला व्यवसायलाई वित्तीय पहुँच विस्तार गर्न गरिएको यो सहकार्य उत्साहजनक भएको बताइन्।
त्यस्तै BII का एसिया क्षेत्र प्रमुख तथा प्रबन्ध निर्देशक श्रीनी नागराजनले नेपाललाई आफ्नो ‘Frontier Markets’ रणनीतिको महत्वपूर्ण हिस्सा भएको उल्लेख गर्दै वित्तीय पहुँचबाट वञ्चित व्यवसायलाई सहयोग गर्न अग्रणी वित्तीय संस्थासँग सहकार्य गरिएको बताए।
लक्ष्मी सनराइज बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुमेध भट्टराईले उक्त सहकार्यलाई समावेशी र दिगो बैंकिङतर्फको महत्वपूर्ण उपलब्धि भएको बताएका छन्। उनले महिला नेतृत्वका व्यवसाय अझै औपचारिक वित्तीय पहुँचबाट टाढा रहेको उल्लेख गर्दै नयाँ सुविधा मार्फत त्यो खाडल कम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
हाल लक्ष्मी सनराइज बैंक ले देशभर २५४ शाखा, ३२७ एटीएम तथा डिजिटल बैंकिङ सञ्जालमार्फत सेवा प्रदान गर्दै आएको छ। BII को भने ६६ देशका १,६०० भन्दा बढी व्यवसायमा लगानी रहेको छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा