सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । काठमाडौं विश्वकै प्रदूषित शहरको सूचीमा चौथो स्थानमा परेको छ । अन्तर्राष्ट्रिय वायु गुणस्तर मापन प्रणाली ‘एअर क्वालिटी इन्डेक्स’ (एक्यूआई) का अनुसार काठमाडौँको एक्यूआई १ सय ८१ मापन गरिएको छ, जुन मानव स्वास्थ्यका लागि अस्वस्थ स्तर मानिन्छ ।
एक्यूआई सूचकाङ्कअनुसार ० देखि ५० सम्मको हावाको गुणस्तरलाई राम्रो, ५१ देखि १०० सम्मलाई मध्यम, १०१ देखि १५० सम्मलाई संवेदनशील समूहका लागि अस्वस्थ, १५१ देखि २०० सम्मलाई अस्वस्थ, २०१ देखि ३०० सम्मलाई धेरै अस्वस्थ र ३०० भन्दा माथिलाई जोखिमपूर्ण मानिन्छ । काठमाडौँको हालको अवस्था ‘अस्वस्थ’ श्रेणीमा पर्ने भएकाले विशेष सतर्कता अपनाउनुपर्ने विज्ञहरू बताउँछन् ।
विश्वकै सबैभन्दा प्रदूषित शहरको पहिलो स्थानमा लाहोर रहेको छ, जहाँ एक्यूआई ५ सय २ मापन गरिएको छ, जुन अत्यन्त जोखिमपूर्ण अवस्था हो । दोस्रो स्थानमा ढाका (एक्यूआई २ सय ५२) र तेस्रो स्थानमा नयाँ दिल्ली (एक्यूआई २ सय ३४) रहेका छन् ।
विशेषज्ञहरूका अनुसार सुक्खा मौसम, वर्षा अभाव, सवारीसाधनको धुवाँ, निर्माण कार्यबाट उठ्ने धुलो, इँटा भट्टा तथा वन डढेलोजस्ता कारणले प्रदूषण बढ्ने गरेको छ । काठमाडौँ उपत्यकाको भौगोलिक बनावटका कारण पनि प्रदूषित हावा लामो समयसम्म थामिन सक्ने बताइएको छ ।
प्रदूषणको मात्रा बढेसँगै चिकित्सकहरूले अत्यावश्यक बाहेक बाहिर ननिस्कन, बिहानको समयमा खुला स्थानमा व्यायाम नगर्न, झ्याल–ढोका बन्द राख्न तथा बाहिर निस्कँदा गुणस्तरीय मास्क प्रयोग गर्न सुझाव दिएका छन् । विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा दमा वा श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्तिले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
वातावरणविद्हरूले दीर्घकालीन समाधानका लागि सवारी व्यवस्थापन, सार्वजनिक यातायातको प्रवर्द्धन, हरियाली विस्तार, निर्माणस्थलमा धुलो नियन्त्रण तथा औद्योगिक उत्सर्जन नियन्त्रणमा कडाइ गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा