सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्की सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने तयारीमा जुटेका छन् ।
आज बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपी पदबाट हटाउँदै एआईजी डा. मनोजकुमार केसीलाई नेपाल प्रहरीको ३४औँ महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको थियो । त्यसपछि सरकारले कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारीमा खटाउने निर्णय गरेको हो ।
सरकारको उक्त निर्णयविरुद्ध कार्कीले कानुनी उपचार खोज्ने तयारी गरेका छन् । उनी निकट एक प्रहरी अधिकारीका अनुसार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्न आवश्यक कानुनी आधार र यसअघि अदालतले गरेका नजिरहरूको अध्ययन भइरहेको छ ।
ती अधिकारीका अनुसार आजै सर्वोच्च अदालतमा रिट दर्ता गर्ने प्रयास भइरहेको छ ।
यसैबीच, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारीमा खटाइएको जानकारी दिएको छ ।
प्रधानमन्त्री कार्यालयले जारी गरेको भनाइमा भनिएको छ, ‘सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई सम्माननीय प्रधानमन्त्रीज्यूको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारीमा खटाउने निर्णय गरेको छ।’
सरकारको निर्णयपछि प्रहरी संगठनको नेतृत्व परिवर्तन भएको छ भने पूर्वआईजीपी कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेमा उक्त निर्णयको वैधानिकतामाथि न्यायिक परीक्षण हुने देखिएको छ ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा