सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का सर्भेक्षक विन्देश्वर साह सुडीविरुद्ध ३ करोड ७१ लाख रुपैयाँभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले साह र उनकी श्रीमती सुमिन्त्रा देवी साहलाई प्रतिवादी बनाएर मंगलबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो।
अख्तियारका अनुसार साहले भूमिसुधार तथा व्यवस्था मन्त्रालयअन्तर्गत अमिन पदमा अस्थायी नियुक्ति लिएको २०४६ वैशाखदेखि २०८१ जेठसम्मको अवधिमा आर्जन गरेको आय, खर्च, लगानी तथा सम्पत्ति सिर्जनाबारे विस्तृत अनुसन्धान गरिएको थियो।
अनुसन्धानबाट साहको पारिश्रमिक तथा भत्ता, घरजग्गा तथा सेयर बिक्री, एकासगोलको आय, ऋण तथा सापटी, बिमा, कृषि, छात्रवृत्ति, ब्याज, सुन बिक्रीलगायतका स्रोतबाट कुल ६ करोड ३ लाख ८५ हजार ३० रुपैयाँ १५ पैसा वैधानिक आय देखिएको आयोगले जनाएको छ।
तर सोही अवधिमा जग्गा, सेयर तथा सवारीसाधन खरिद, बिमा प्रिमियम, अध्ययन खर्च, ऋण भुक्तानी, बैंक मौज्दात, सापटी तथा विभिन्न लगानी र जग्गासम्बन्धी कमिसनलगायतमा ९ करोड ७५ लाख ६९ हजार ५८१ रुपैयाँ ९५ पैसा खर्च तथा लगानी भएको पाइएको छ।
आय र खर्च तथा लगानीको तुलना गर्दा ३ करोड ७१ लाख ८४ हजार ५५१ रुपैयाँ ८० पैसाको स्रोत पुष्टि हुन नसकेको अख्तियारको निष्कर्ष छ। उक्त रकम बराबरको सम्पत्ति साहले प्रचलित कानुनअनुसार पेस गरेको सम्पत्ति विवरणसँग समेत मेल नखाएको आयोगले जनाएको छ।
अख्तियारले साहविरुद्ध ३ करोड ७१ लाख ८४ हजार ५५१ रुपैयाँ ८० पैसा बिगो कायम गरी सोहीअनुसार कैद तथा जरिवानाको मागदाबी गरेको छ।
अनुसन्धानका क्रममा गैरकानुनी रूपमा आर्जन गरिएको भनिएको केही सम्पत्ति साहकी श्रीमती सुमिन्त्रा देवी साहको नाममा खरिद तथा लगानी गरिएको पाइएको भन्दै उनलाई समेत प्रतिवादी बनाइएको आयोगले जनाएको छ।
आयोगले गैरकानुनी रूपमा आर्जन गरिएको भनिएको सम्पत्ति तथा त्यसबाट बढेबढाइएको सम्पत्तिसमेत जफत गर्न मागदाबी गरेको छ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा