सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको केन्द्रीय कार्यालय काठमाडौंको बालुवाटारमा स्थानान्तरण भएको छ।
काठमाडौं महानगरपालिका–३, बालुवाटारमा बैंकले आफ्नै स्वामित्वमा निर्माण गरेको नवनिर्मित भवनमा केन्द्रीय कार्यालय स्थापना गरिएको हो। नयाँ कार्यालयको २०८३ भदौ ३ गते बुधबार नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले एक समारोहबीच उद्घाटन गरेका हुन्।
नयाँ कार्यालयको उद्घाटनसँगै यसअघि काठमाडौंको लाजिम्पाटमा रहेको बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा स्थानान्तरण गरिएको हो।
गरिमा विकास बैंकले २०६४ साल कात्तिक १८ गते स्याङ्जाको वालिङबाट औपचारिक रूपमा वित्तीय कारोबार सुरु गरेको थियो। त्यसपछि २०६७ साल वैशाख १ गते केन्द्रीय कार्यालय कास्कीको महेन्द्रपुलमा स्थानान्तरण गरिएको थियो। राष्ट्रियस्तरको विकास बैंकका रूपमा स्तरोन्नति भएपछि २०७३ साल चैत २७ गते केन्द्रीय कार्यालय पोखराबाट काठमाडौंको लाजिम्पाटमा सारिएको थियो।

नवनिर्मित केन्द्रीय कार्यालय उद्घाटनको अवसरमा कार्यालय परिसरमा निर्माण गरिएको मन्दिरमा शिव पाञ्चायन प्राण प्रतिष्ठासहित धार्मिक पूजाआजा समेत गरिएको थियो।
उद्घाटन समारोहमा नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्ट, विभिन्न नियमनकारी निकायका पदाधिकारी, बैंकका सञ्चालक समिति सदस्य, पूर्वपदाधिकारी, उच्च व्यवस्थापनका अधिकारी, विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा उच्च पदस्थ अधिकारी, शेयरधनी, कर्मचारी र ग्राहकहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्यायले स्याङ्जाको वालिङबाट सुरु भएको बैंकको यात्रा पोखरा हुँदै काठमाडौंसम्म आइपुगेको र आफ्नै स्वामित्वको भवनमा केन्द्रीय कार्यालय सञ्चालनमा आएसँगै बैंकको यात्राको नयाँ अध्याय सुरु भएको बताए।
उनले बैंकको व्यावसायिक सफलतामा लाखौँ ग्राहक, हजारौँ शेयरधनी, नियमनकारी निकाय, व्यावसायिक साझेदार संस्था तथा कर्मचारीको मेहनत र योगदान महत्वपूर्ण रहेको उल्लेख गरे। संस्थागत सुशासनलाई समेत बैंकको सफलताको महत्वपूर्ण आधारका रूपमा उनले प्रस्तुत गरे।
त्यस्तै, बैंकका अध्यक्ष दिलिप प्रताप खाँणले आगामी दिनमा ग्राहकलाई थप सहज, प्रभावकारी र गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे। संस्थागत सुशासन, प्रविधि, नवप्रवर्तन र दिगो विकासलाई प्राथमिकतामा राख्दै बैंकलाई थप सशक्त रूपमा अघि बढाउने उनले बताए।
हाल गरिमा विकास बैंकले देशभर १२६ शाखा कार्यालय र ५१ वटा एटीएममार्फत करिब १० लाख ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ। बैंकले सरल, सुरक्षित र गुणस्तरीय बैंकिङ सेवाका साथै नवीनतम प्रविधिमा आधारित सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा