सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले संस्थापनइतर समूहले आयोजना गरेको राष्ट्रिय भेलाबाट नयाँ राजनीतिक दल गठन हुने सम्भावना नरहेको बताएका छन् ।
शुक्रबार ललितपुरको सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा बोल्दै शर्माले पार्टीभित्र देखिएको विवाद समाधानका लागि संवाद र सहकार्य आवश्यक रहेको बताए ।
‘इतर समूहको भेलाबाट अर्को दल बन्ने सम्भावना छैन । सभापतिले सबैलाई सँगसँगै जाऊँ भनेर प्रयास गरिराख्नुभएको छ,’ शर्माले भने, ‘भेला सकिएपछि हामी संवाद गर्नेछौँ । हामी संवादका लागि खुला छौँ । यो पार्टी सबैको हो भन्ने कुरा सबैले आत्मसाथ गर्नुहुन्छ भन्ने विश्वास छ ।’
शर्माले कांग्रेसभित्रको मतभेदलाई थप चर्काउनेभन्दा समाधान गर्दै पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिए । विशेष महाधिवेशनबाट व्यक्त भएका नेता–कार्यकर्ताका भावनालाई पार्टी सुदृढीकरणको आधार बनाउनुपर्ने उनको भनाइ थियो ।
उनले व्यक्तिगत सम्बन्ध र राजनीतिक समीकरणभन्दा पार्टीको विधान, सिद्धान्त तथा संस्थागत मर्यादालाई प्राथमिकता दिनुपर्ने बताए । पार्टी र व्यक्तिबीच रोज्नुपर्ने अवस्था आए कांग्रेस र मुलुकको हितलाई पहिलो प्राथमिकता दिनुपर्ने शर्माको धारणा थियो ।
गत वैशाख ४ गते सर्वोच्च अदालतले निर्वाचन आयोगको निर्णय सदर गर्दै रिट खारेज गरेको प्रसंग उल्लेख गर्दै शर्माले उक्त फैसलालाई कसैको जित वा हारका रूपमा लिन नहुने बताए । फैसलापछि नेतृत्वले ४८ घण्टाभित्रै संवाद सुरु गरेको उनले जानकारी दिए ।
विवाद समाधानका लागि जेठ १६ गते नेतृत्वसमक्ष सातबुँदे लिखित प्रस्ताव पठाइएको र आन्तरिक विषय भएकाले तत्काल सार्वजनिक नगरिएको शर्माले बताए । नेतृत्वसँग छलफलपछि उक्त प्रस्ताव जेठ ३१ गते सार्वजनिक गरिएको उनको भनाइ छ ।
शर्माले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापाको नेतृत्वमा कांग्रेसले राष्ट्रिय राजनीतिमा प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वाससमेत व्यक्त गरे । वर्तमान नेतृत्वप्रति आफू स्पष्ट र दृढ रहेको उनले बताए ।
यसैबीच कांग्रेसभित्रको नेतृत्व विवाद थप पेचिलो बनेको छ । देउवा पक्षले शुक्रबारदेखि काठमाडौंमा तीनदिने राष्ट्रिय भेला आयोजना गरेको छ । सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने भेलाको उद्घाटन पूर्वसभापति शेरबहादुर देउवाले गर्ने कार्यक्रम छ ।
साउन २९ देखि ३१ गतेसम्म चल्ने भेलामा कांग्रेसभित्रको पछिल्लो राजनीतिक अवस्था, नेतृत्व विवाद, सांगठनिक विषय तथा आगामी राजनीतिक रणनीतिबारे छलफल हुने बताइएको छ ।
सर्वोच्च अदालतले अघिल्लो फैसला पुनरावलोकनका लागि अनुमति दिएपछि देउवा पक्षले विशेष महाधिवेशनबाट आएको नेतृत्वको वैधानिकतामाथि प्रश्न उठाउँदै समानान्तर राजनीतिक गतिविधि अघि बढाइरहेको छ । यता थापा नेतृत्वको कांग्रेसले भने नियमित महाधिवेशनको प्रक्रिया अघि बढाइरहेको छ ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा