काठमाडौं । ठमेल पर्यटन विकास परिषद्को आसन्न निर्वाचनका सन्दर्भमा आयोजित प्रश्रय राजभण्डारी समावेशी समूहका उम्मेदवारहरूको परिचयात्मक कार्यक्रममा अध्यक्ष पदका उम्मेदवार प्रश्रय राजभण्डारीले आफ्नो समूहका मुख्य एजेण्डा सुरक्षा व्यवस्थापन, डिजिटल ठमेल र व्यवसायीबीच प्रभावकारी सञ्चार रहेको बताएका छन् ।

कार्यक्रममा बोल्दै उनले परिषद्भित्र व्यवसायी र नेतृत्वबीच बलियो सञ्चार प्रणाली निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

‘हाम्रा एजेण्डा र योजनाबारे मैले पटक–पटक भन्दै आएको छु। सर्वप्रथम सुरक्षा व्यवस्थापन, दोस्रो डिजिटल ठमेल र तेस्रो कम्युनिकेशन हो। हामी तपाईंहरू र हाम्रोबीच प्रभावकारी सञ्चारको वातावरण सिर्जना गर्न चाहन्छौँ,’ उनले भने।

राजभण्डारीले आफू व्यवसायीहरूको हित र सत्यको पक्षमा उभिएको उल्लेख गर्दै निर्वाचनलाई व्यवसायिक प्रतिस्पर्धाका रूपमा लिनुपर्ने धारणा राखे । ‘यो चुनावमा म किन उठेको भन्दा जहाँ सत्य हुन्छ, त्यहाँ कृष्ण र अर्जुन हुन्छन्। प्रत्येक मतदाता हाम्रो कृष्ण हुनुहुन्छ भने हामी उम्मेदवार पाण्डव हौँ। यो हाम्रो व्यवसायिक चुनाव हो, अनावश्यक चुनाव होइन,’ उनले भने।

युवाहरूलाई नेतृत्वमा अवसर दिनुपर्ने आवश्यकता औँल्याउँदै उनले नेतृत्व चयनमा युवाको सहभागिता सुनिश्चित हुनुपर्ने बताए । ‘जब युवाको पालो आउँछ, तब किन युवालाई साइड लगाइन्छ?’ भन्दै उनले नयाँ पुस्तालाई नेतृत्वमा अघि बढाउने वातावरण बनाउनुपर्नेमा जोड दिए ।