सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । गैरदलीय स्थानीय सरकार निर्माण अभियानले आगामी स्थानीय तहको निर्वाचन दलीय आधारमा नभई गैरदलीय र स्वतन्त्र रूपमा गराउन माग गर्दै निर्वाचन आयोगमा ज्ञापनपत्र बुझाएको छ ।
अभियानले बिहीबार प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीसमक्ष ज्ञापनपत्र बुझाउँदै स्थानीय तहको निर्वाचन प्रणालीमा सुधार गरी दलगत प्रतिस्पर्धाबिनै स्वतन्त्र उम्मेदवारबीच प्रतिस्पर्धा हुने व्यवस्था गर्न माग गरेको हो ।
ज्ञापनपत्र बुझ्दै प्रमुख निर्वाचन आयुक्त कार्कीले अभियानले संविधान, कानुन, नेपालको निर्वाचन प्रणाली तथा विगतको अभ्यासलाई आधार बनाएर विषय उठाएको भन्दै यसबारे आयोगले अध्ययन र छलफल गर्ने बताए ।
उनले अभियानले उठाएको विषयबारे आयोग जानकार भएको उल्लेख गर्दै उपयुक्त विकल्पका विषयमा छलफल अघि बढाउने प्रतिबद्धता जनाए । आवश्यक परे अभियानका प्रतिनिधिलाई पुनः छलफलका लागि बोलाइने पनि उनले बताए ।
यता, गैरदलीय स्थानीय सरकार निर्माण अभियानका संयोजक दिनेश सुवेदीले नेपालको संविधानले स्थानीय तहको निर्वाचन दलीय आधारमा हुनुपर्ने परिकल्पना नगरेको दाबी गरेका छन् ।
उनका अनुसार केही ऐन तथा कानुनी व्यवस्थाका कारण स्थानीय तहको निर्वाचनमा राजनीतिक दलको सहभागिता अनिवार्यजस्तै बनेको हो । त्यसैले विद्यमान कानुन संशोधन गरेर स्थानीय तहको निर्वाचन गैरदलीय र स्वतन्त्र रूपमा गराउनुपर्ने उनको भनाइ छ ।
सुवेदीले स्थानीय तहलाई राजनीतिक दलको प्रभाव र नियन्त्रणबाट मुक्त राख्नुपर्ने आवश्यकता औँल्याउँदै गैरदलीय स्थानीय सरकार जनताको अधिकार र लोकतान्त्रिक मान्यतासँग जोडिएको विषय भएको बताए ।
उनले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै अधिकांश नेपाली जनताको चाहनाअनुसार स्थानीय तहलाई स्वतन्त्र बनाउन अभियानले पहल गरिरहेको पनि उल्लेख गरे ।
अभियानले स्थानीय तहमा दलगत प्रतिस्पर्धाभन्दा स्थानीय आवश्यकता, विकास र जनताको प्रत्यक्ष सहभागितालाई प्राथमिकता दिनुपर्ने धारणा राखेको छ ।
यस मागसँगै आगामी स्थानीय तहको निर्वाचन गैरदलीय बनाउनुपर्ने विषय निर्वाचन आयोगमा औपचारिक रूपमा प्रवेश गरेको छ । यद्यपि, यस विषयमा आयोगले कुनै निर्णय गरिसकेको छैन । आयोगले अध्ययन र छलफलपछि आवश्यक धारणा सार्वजनिक गर्ने जनाएको छ ।



काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा