सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । संस्कार एकेडेमीले वास्तु तथा अंकज्योतिष क्षेत्रको व्यावसायिक विकास गर्ने उद्देश्यसहित नेपालमै पहिलो पटक लेचर एन्टेना, आभा स्क्यानर र वास्तु गुरुको विशेष व्यावहारिक कार्यशाला सञ्चालन गर्ने भएको छ ।
एकेडेमीले आगामी मंसिर ४, ५ र ६ गते काठमाडौंको बूढानीलकण्ठस्थित होटल लेमन ट्री प्रिमियरमा तीनदिने आवासीय वास्तु गुरु कार्यकारी पाठ्यक्रम सञ्चालन गर्न लागेको हो । सोही अवसरमा मंसिर ४ गते नेपालमै विकास गरिएको भनिएको व्यावसायिक वास्तु सफ्टवेयर ‘संस्कार वास्तु सफ्टवेयर’ को औपचारिक शुभारम्भसमेत गरिनेछ ।
संस्कार एकेडेमीका संस्थापक, प्रमुख कार्यकारी अधिकृत तथा मुख्य प्रशिक्षक आचार्य राजाबाबु शाहको नेतृत्वमा सञ्चालन हुने कार्यक्रममा वास्तुसम्बन्धी सैद्धान्तिक ज्ञानसँगै आधुनिक उपकरणको प्रयोगबारे व्यावहारिक प्रशिक्षण दिइने संस्थाले जनाएको छ ।
तीनदिने प्रशिक्षणमा आवासीय, व्यावसायिक तथा औद्योगिक वास्तुका उन्नत सिद्धान्त, भवनको दिशागत विश्लेषण, वास्तुसम्बन्धी समस्या पहिचान तथा व्यावसायिक वास्तु प्रतिवेदन तयार गर्ने विधिबारे प्रशिक्षण दिइनेछ ।
त्यस्तै, लेचर एन्टेना कार्यशालामा उपकरण सञ्चालन र प्रयोग विधिबारे अभ्यास गराइनेछ भने आभा स्क्यानर कार्यशालामा स्क्यानरको प्रयोग तथा ऊर्जा मूल्यांकनसम्बन्धी अभ्यास गराइने एकेडेमीले जनाएको छ ।
कार्यक्रमको अर्को मुख्य आकर्षण ‘संस्कार वास्तु सफ्टवेयर’ रहनेछ । संस्थाका अनुसार उक्त सफ्टवेयरमा भवनका १६ दिशागत क्षेत्र, ३२ प्रवेशद्वार, ४५ वास्तु देवता ऊर्जा क्षेत्र, मर्मस्थान तथा दिशागत शक्तिको विश्लेषण गर्न सकिने सुविधा समावेश गरिएको छ ।
यसका साथै भवनको नक्साको विस्तृत विश्लेषण, ऊर्जा स्तम्भचित्र तथा व्यावसायिक वास्तु प्रतिवेदन तयार गर्न सकिने सुविधा पनि सफ्टवेयरमा उपलब्ध हुने बताइएको छ ।
उक्त सफ्टवेयर वास्तु परामर्शदाता, वास्तुविद्, इन्टेरियर डिजाइनर, विद्यार्थी तथा वास्तु अध्ययन र परामर्शमा संलग्न व्यक्तिहरूलाई लक्षित गरी विकास गरिएको संस्थाको भनाइ छ ।
संस्कार एकेडेमीका प्रमुख कार्यकारी अधिकृत तथा मुख्य प्रशिक्षक आचार्य राजाबाबु शाहले नेपाली वास्तु परामर्शदातालाई अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने बनाउनु आफ्नो मुख्य उद्देश्य रहेको बताएका छन् ।
उनका अनुसार व्यावहारिक प्रशिक्षण, आधुनिक उपकरण र आफ्नै व्यावसायिक सफ्टवेयरको विकासमार्फत नेपाली वास्तु क्षेत्रलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउने प्रयास भइरहेको छ ।
नेपाली वास्तु परामर्शदाताले तयार गर्ने विश्लेषण तथा प्रतिवेदनलाई अन्तर्राष्ट्रियस्तरको बनाउँदै नेपाललाई वास्तु तथा अंकज्योतिषसम्बन्धी व्यावसायिक शिक्षा र प्रविधि विकासको अन्तर्राष्ट्रिय केन्द्रका रूपमा स्थापित गर्ने दीर्घकालीन लक्ष्य रहेको शाहले बताएका छन् ।
एकेडेमीले यी कार्यक्रममार्फत वास्तु तथा अंकज्योतिष क्षेत्रमा दक्ष जनशक्ति उत्पादन, व्यावसायिक सीप अभिवृद्धि र आधुनिक प्रविधिको प्रयोग विस्तार हुने अपेक्षा गरेको छ ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा