सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेमाथि भित्री र बाहिरी शक्तिबाट चौतर्फी संयुक्त आक्रमण भएको आरोप लगाएका छन् ।
पार्टीको बागमती प्रदेश संगठन कमिटीको तेस्रो पूर्ण बैठकपछि बोल्दै ओलीले एमालेले विगतमा गरेका कामको समीक्षा गर्दा आफूहरूमाथि भएको आक्रमणलाई पनि बुझ्नुपर्ने बताए ।
उनले भने, ‘हामीले विगतका कामहरूको समीक्षा पनि गरेका छौँ । हामीमाथिको हमलाको एउटा कुरा ओझेलमा पर्ने गरेको छ । हामी किन धक्का खायौँ भन्दा हामीमाथि भित्री, बाहिरी चौतर्फी संयुक्त आक्रमण भएको थियो । हाम्रा विरोधीहरूले अत्यन्तै निर्णायक ढंगले हामीमाथि हमला गरे । हामीलाई एक्लै पारेर नै हमला गरे ।’
ओलीले सरकारी तथा सार्वजनिक सम्पत्तिमा आगजनी र लुटपाट गर्ने नेपाली नै भएको दाबी गरे । उनले सिंहदरबार, संघीय संसद् भवन, सर्वोच्च अदालतलगायतका सरकारी संरचनामा आगजनी गर्ने र विभिन्न व्यवसायमा तोडफोड तथा लुटपाट गर्ने काममा नेपालीहरू नै संलग्न भएको बताए ।
उनले भने, ‘मैले भनिरहनुपर्ला जस्तो लाग्दैन । आगो लगाउनेमा को–को सामेल थिए ? लुट्नेमा को–को सामेल थिए ? विदेशबाट कोही आएर लुटेन । विदेशबाट कोही आएर हाम्रो सिंहदरबारमा आगो लगाएनन् । केन्द्रीय प्रशासनिक भवनहरू, केन्द्रीय सरकार, संघीय संसद् भवन र सर्वोच्च अदालतमा आगो लगाउने नेपालीहरू नै थिए ।’
ओलीले देशमा रोजगारी सिर्जना गर्ने, राज्यलाई ठूलो कर तिर्ने राष्ट्रिय उद्यमी तथा व्यवसायीका प्रतिष्ठानलाई छानीछानी निशाना बनाइएको आरोपसमेत लगाए ।
उनले भने, ‘रोजगारीका हजारौँ अवसर सिर्जना गरेको, राज्यको ढुकुटीमा ठूलो कर तिरेको राष्ट्रिय उद्यमीले स्थापना गरेको र सञ्चालन गर्दै बढाउँदै लगेको व्यवसायलाई सिध्याउन किन पर्यो ? विदेशबाट आएका मान्छे होइनन्, यहीँका मान्छेले गरेका हुन् ।’
उनले केही हजार नेपाली देशव्यापी रूपमा सरकारी सम्पत्तिमा आगजनी गर्ने, जनप्रतिनिधिमूलक संस्थाप्रति विरोध फैलाउने र नेताहरूको चरित्र हत्या गर्ने गतिविधिमा लागेको आरोप लगाए । यस्ता गतिविधि सिकाउने र फैलाउने काम भएको भन्दै त्यसका नेपालीहरू नै भरिया बनेको उनको भनाइ थियो ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा