सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
एजेन्सी । होर्मुज जलडमरूमध्यको दक्षिणतर्फ रहेको ‘अनधिकृत’ मार्गबाट अघि बढ्ने प्रयास गरिरहेका दुईवटा विशाल तेलवाहक जहाज शुक्रबार नौसैनिक बारुदी सुरुङमा ठोक्किएर विस्फोट भएका छन्।
रणनीतिक रूपमा महत्त्वपूर्ण उक्त जलमार्गमा एक दिनअघि पनि सुरक्षा घटना भएको खबर सार्वजनिक भएको थियो।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी)को नौसेनाका अनुसार, विस्फोटका कारण दुवै जहाजका इन्जिन कक्षमा आगलागी भएको र जहाजहरू रोकिएको नौसेनाले जनाएको छ।
आईआरजीसीको आधिकारिक समाचार माध्यम सेपाह न्युजमा प्रकाशित विज्ञप्तिमा उक्त जानकारी दिइएको हो।
आईआरजीसीको नौसेनाका अनुसार, ती दुई तेलवाहक जहाजमा कुल ४५ लाख ब्यारेलभन्दा बढी कच्चा तेल लोड गरिएको थियो। विस्फोटपछि दुवै जहाजका चालक दलका सदस्यहरूले जहाज छाडेका थिए।
यसअघि शुक्रबार नै अर्धसरकारी समाचार संस्था तस्निमले आईआरजीसीको नौसेनानिकट एक स्रोतलाई उद्धृत गर्दै होर्मुज जलडमरूमध्यमा नियम उल्लङ्घन गर्ने जहाजहरूको आवागमन ‘पूर्ण रूपमा रोकिएको’ जनाएको थियो।
इरानले त्यस्ता जहाजलाई सहयोग गर्ने नेभिगेसन प्रणालीहरू नष्ट गर्नुका साथै बिहीबार जलमार्गमा चारवटा ‘नियम उल्लङ्घन गर्ने’ तेलवाहक जहाजलाई निशाना बनाएको समाचारमा उल्लेख थियो।
‘जलडमरूमध्यमा तेल तस्करी पुनः सुरु भएमा नियम उल्लङ्घन गर्ने जहाजहरू र तिनलाई सहयोग गर्ने प्राविधिक प्रणालीविरुद्ध अझ कडा कारबाही गरिनेछ,’ ती अधिकारीले बताए।
फेब्रुअरी २८ देखि इरानले होर्मुज जलडमरूमध्यमा आफ्नो नियन्त्रण थप कडा बनाएको थियो। इरानी भूभागमा इजरायल र अमेरिकाले संयुक्त रूपमा आक्रमण गरेपछि इरानले ती दुई देशका वा तिनसँग सम्बन्धित जहाजहरूलाई सुरक्षित रूपमा आवतजावत गर्न रोक लगाएको थियो।
यसैबीच, उक्त जलमार्गमा तनाव थप बढिरहेका बेला बेलायतको समुद्री व्यापार सञ्चालन निकाय (यूकेएमटीओ) ले बिहीबार साँझ ओमानको लिमाह क्षेत्रबाट सात समुद्री माइल उत्तरपूर्वमा भएको घटनाबारे जानकारी प्राप्त भएको जनाएको छ।
यूकेएमटीओका अनुसार, होर्मुज जलडमरूमध्य हुँदै बाहिरिँदै गरेको एउटा तेलवाहक जहाजलाई अज्ञात वस्तुले प्रहार गरेको रिपोर्ट प्राप्त भएको थियो। उक्त घटनाबारे थप विवरण भने सार्वजनिक गरिएको छैन।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा