सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
विराटनगर । झापाको शिवसताक्षी नगरपालिका–३ को नेपाली कांग्रेस वडा कार्यसमितिको सचिवमा १८ वर्षका पवन दाहाल सर्वसम्मत रूपमा चयन भए । जेनजी उमेर समूहका दाहाल आफू कांग्रेसको इतिहासकै कान्छो वडा सचिव भएको बताउँछन् ।
नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशनअन्तर्गत तल्लो तहका अधिवेशनहरू अहिले धमाधम गरिरहेको छ । विशेष महाधिवेशनबाट आएको नेतृत्वले पार्टीको वडा तहदेखि केन्द्रीय कार्यसमितिसम्म युवाको प्रतिनिधित्व सुनिश्चित गरेपछि अधिवेशनमा कोशी प्रदेशका युवा नेताहरू उत्साहित देखिएका छन् ।
गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट संशोधन गरिएको विधानअनुसार कांग्रेसले १५औँ महाधिवेशन गर्दैछ । संशोधित व्यवस्थाले युवालाई वडा, पालिका, प्रदेश सभा क्षेत्र र जिल्ला तहका कार्यसमितिमा प्रतिनिधित्वको उमेर तोकेरै सुनिश्चितता गरेको छ ।
नयाँ व्यवस्थाले अधिवेशनबाटै युवा नेतृत्वमा आउने बाटो खोलेपछि कोशीका कांग्रेससम्बद्ध युवा नेताहरूमा उत्साह बढेको हो । क्षेत्रीय प्रतिनिधिका रूपमा चयन भएका इटहरी, सुनसरीका सुमन रेग्मी नयाँ कार्यसमितिले युवामा नयाँ सञ्चार पैदा भएको बताउँछन् ।
उनले भने, ‘अहिलेको सबैभन्दा योङ पार्टी सभापति भनेकै कांग्रेसकै हो । जसले विधानमै सहभागितालाई सुनिश्चितता गरे पनि नेतृत्वमा समेत हस्तक्षेपले सकारात्मक सन्देश पैदा भएको छ ।’
यसैगरी, इटहरीकै युवा युगल बजगाई पनि युवा राजनीतिबाट टाढा नभई राजनीतिसँग जोडिएर आउनुपर्ने धारणा राख्दछन् ।
गगन थापाको नेतृत्व आएपछि मोरङकी राधिका दाहाल भन्छिन्, ‘नयाँ नेतृत्वले देशमा युवाको खाँचो औँल्याएर युवाको भूमिका देखाएको छ ।’
संशोधित विधानअनुसार वडा कार्यसमितिमा कम्तीमा एक जना ३० वर्षमुनिका युवा रहने व्यवस्था छ। त्यस्तै, १५० वा सोभन्दा कम क्रियाशील सदस्य रहेको वडाबाट एक महिलासहित तीन जना ३० वर्षमुनिका युवा क्षेत्रीय प्रतिनिधिका रूपमा निर्वाचित हुनेछन् ।
१५० भन्दा बढी क्रियाशील सदस्य रहेका वडामा पनि थप प्रतिनिधिमध्ये युवा समेटिने व्यवस्था छ । जसअनुसार अधिवेशन भएका क्षेत्रमा प्रतिनिधित्व आइसकेको छ ।
विगतमा पनि युवालाई आन्दोलन र नाराबाजीका लागि मात्रै देख्ने नेतृत्वले अब नेतृत्वदायी भूमिकामा पनि ल्याउन आवश्यक रहेको कांग्रेस नेता होमनाथ पोखरेल बताउँछन् ।
उनले भनेका छन्, ‘कांग्रेसले अब युवालाई रोजगारीसँग पनि जोड्न सक्नुपर्दछ ।’
गाउँपालिका तथा नगर कार्यसमितिमा समेत एक महिलासहित कम्तीमा तीन जना ३० वर्षमुनिका युवाको प्रतिनिधित्व सुनिश्चित गरिएको छ ।
जिल्ला कार्यसमितिमा एक महिलासहित तीन जना ३० वर्षमुनिका युवा रहने व्यवस्था छ भने प्रदेश कार्यसमितिमा ३५ वर्षमुनिका दुई महिलासहित सात जना युवा निर्वाचित हुनेछन् ।
केन्द्रीय महाधिवेशन प्रतिनिधिमा पनि ३५ वर्षमुनिका युवाको सहभागिता अनिवार्य गरिएको छ । १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट तीन–तीन जनाका दरले कम्तीमा ४९५ जना युवा महाधिवेशन प्रतिनिधि आउने व्यवस्था गरिएको छ ।
नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय उपसभापतिसमेत रहेका नेता विकास केसीले युवाको सहभागिता अहिलेको वर्तमान आवश्यकताको विषय रहेको बताए । उनले भने, ‘हामीले युवाबाटै हो विगतका आन्दोलनलाई युवामाझ बुझाउने, जसको नेतृत्व युवाले नै गर्दछन्।’
विधानमा ३५ वर्षमुनिका युवामध्येबाट प्रत्येक प्रदेशबाट दुई जना र खुलातर्फ सात जना गरी २१ जना युवा केन्द्रीय कार्यसमितिमा निर्वाचित हुने व्यवस्था गरिएको छ । यसले कांग्रेसको संगठनमा नयाँ पुस्ताको उपस्थिति थप बलियो बनाउने अपेक्षा युवा नेताहरूले गरेका छन् ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा