सामाजिक सञ्जालमा लगाइएको आरोपप्रति सांसद इन्दिरा राना मगरको आपत्ति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा राना मगरले मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी विधेयकमा प्रयोग भएका केही शब्दप्रति आपत्ति जनाउँदै नेपाली महिलामाथि सामाजिक सञ्जालमार्फत हुने आरोप र चरित्रहत्या रोक्न माग गरेकी छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद राना मगरले विधेयकमा ‘वेश्यावृत्ति’, ‘वेश्यागमन’ लगायतका शब्द प्रयोग गरिएको भन्दै त्यसलाई पुनरावलोकन गर्न आग्रह गरिन् ।

उनले भनिन्, ‘मैले यो विधेयक अलिअलि पढेँ तर यहाँ धेरै शब्द वेश्यावृत्ति, वेश्यागमन भनेको छ । अहिले यो अवस्थामा आएर पनि हाम्रो संविधानमा पनि त्यो अलाउ छैन । हामीले यो शब्द लोकसेवामा प्रयोग गर्दा पूरै विरोध गरेका थियौँ । हामी महिला सांसदहरुले पूरै विरोध गरेका थियौँ । यो लेख्ने पनि पुरुष नै हो कि जस्तो लाग्यो । हरेक ठाउँमा वेश्यावृत्ति भन्ने शब्द आइरहेको छ । यसलाई हटाउन म अनुरोध गर्न चाहन्छु।’

मानव बेचबिखन तथा ओसारपसारको स्वरूप पछिल्लो समय परिवर्तन हुँदै गएको भन्दै उनले राज्यले यस विषयमा गम्भीर ध्यान दिनुपर्ने बताइन्। उनले महिलामात्र नभई पुरुष, युवा तथा बालबालिकालाई समेत संरक्षणको दायरामा समेट्नुपर्ने धारणा राखिन् ।

‘अहिले यसको प्रकृति एकदमै नयाँ तरिकाले गएको छ । त्यसमा राज्यले पूरै ध्यान दिनुपर्छ । यहाँ महिलालाई मात्र हैन पुरुषलाई पनि प्रोटेक्सन गर्नुपर्छ । युवाहरु, बालकहरु सबैलाई समेट्नुपर्छ,’ उनले भनिन् ।

सांसद राना मगरले आफूविरुद्ध सामाजिक सञ्जालमा लगाइएका आरोपप्रति पनि आक्रोश व्यक्त गरिन् । आफूले गरेको एउटा नियमापत्तिको विषयलाई लिएर आफ्नै आदिवासी महिला तथा साथीहरूले समेत सामाजिक सञ्जालमा आफूलाई ‘वेश्य’ र ‘चाइल्ड ट्राफिकर’ जस्ता आरोप लगाएको भन्दै उनले दुःख व्यक्त गरिन् ।

उनले भनिन्, ‘आज मैले एउटा नियमापत्ति गर्दा पनि मलाई आफ्नै आदिवासी महिलाहरु, साथीहरु धेरैले वेश्य, चाइल्ड ट्राफिकर भनेर थुप्रै सामाजिक सञ्जालमा लेखेका छन् । मलाई दुःख लागेको छ।’

आफूमाथि लगाइएको आरोप प्रमाणित गर्न चुनौती दिँदै उनले प्रमाणबिना कसैलाई पनि झुटा आरोप लगाउन नहुने बताइन् ।

‘म च्यालेन्ज दिन्छु, म लाने हो भने हजारौँ जनालाई जेल लान सक्छु । तर म गर्दिनँ । म एक पैसा पनि सरकारको मेरो नाममा खर्च गर्न चाहन्नँ । प्रमाणित गर्नुस्, नभए यसरी मान्छेलाई झुटो आरोप लगाउन पाइँदैन,’ उनले भनिन्।

उनले सामाजिक सञ्जालमा नेपाली महिलामाथि विभिन्न प्रकारका आरोप लगाउने प्रवृत्ति बढेको भन्दै त्यसप्रति राज्य र संसद् गम्भीर हुनुपर्ने बताइन् । महिलामाथि हुने यस्ता आरोपले व्यक्तिगत रूपमा गहिरो पीडा दिने उनको भनाइ थियो ।

‘नेपाली महिलाहरुमाथि यस्ता कुराहरु गरिरहेका छन् । तर यो सभा पनि निरीह देखिरहेको छ । मलाई कति पीडा भएको छ, मलाई मात्र थाहा छ । जसलाई पीडा हुन्छ, उसलाई मात्र थाहा हुन्छ,’ सांसद राना मगरले भावुक हुँदै भनिन् ।