बाजुरामा अविरल वर्षा : बाढी-पहिरोको कहर 

बाजुरामा अविरल वर्षाले गर्दा घर माथिबाट पहिरो गएको छ । पहिरो जाँदा त्रिवेणी नगरपालिका ९ बस्ने कर्ण बहादुर थापाकी छोरी अन्दाजी २० वर्षीय प्रतीक्षा थापा बेपत्ता भएकी छन् ।

सोही ठाउँ बस्ने अन्दाजी ४० वर्षका धर्म थापा र धौली देवी रावल घाइते छन् । बिहीबार राति देखिको अविरल वर्षापछि ताम्सु बस्ने ३९ वर्षीय धर्म थापा र ४३ वर्षीय कर्णबहादुर थापाको घर पहिरोले पुरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

पहिरोले घर पुरिँदा सोही घरका दुई जना घाइते भएका छन् । भने एक जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी नरेश बहादुर शाहीले बताए।घाइते भएकाहरूलाई उपचारको लागी जिल्ला अस्पताल पठाइएको छ ।

घटनापछि जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) शैलेश्वरी बोहराको कमाण्डमा १७ जना प्रहरी टोली आवश्यक उद्धार सामग्रीसहित घटनास्थलतर्फ खटिएको छ ।

घाइते धर्म थापाको बायाँ खुट्टा र शरीरमा चोट लागेको छ । त्यस्तै डम्म थापाकी छोरी अन्दाजी ४० बर्षिया धौली देवी रावलको टाउको, शरीरमा र दाहिने खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ ।

लगातारको वर्षाले बाजुराका सडकखण्डहरु हिलाम्मे भएका छन् । ठाउँ ठाउँमा पहिरो गई आवतजावतमा असहजता थपिएको छ । बाजुरामा डेढ सय बस्ती बाढी पहिरोको जोखिममा छन् ।

यहाँको बुढी गङ्गा, खप्तड छेडेदह, त्रिवेणी, गौमुल, बडिमालिका, बुढी नन्दा, स्वामिकार्तिक, जगनाथ र हिमाली गाउँपालिका गरेर करिब डेढ सय बढी बस्ती बाढी पहिरोको जोखिममा छन् ।

जिल्लाका ९ वटै स्थानीय तहका १५० बढी गाउँ बस्ती बाढी पहिरोको उच्च जोखिममा रहँदै आएका हुन् ।

जिल्ला विपद् व्यवस्थापन समितिले हालै सार्वजनिक गरेको ‘विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना २०८३’ अनुसार जिल्लाका ९ वटै स्थानीय तह उच्च जोखिममा छन् । करिब १५० बढी बस्ती बाढी पहिरो जस्ता विपद्जन्य घटनाको उच्च जोखिममा रहेका छन् ।