नाइमा एक्स्पो : ट्राफिक प्रहरीको सचेतना स्टलमा आगन्तुकहरु खचाखच

नाइमा एक्स्पोमा ट्राफिक प्रहरीको सचेतना भिडियो : फिल्महलजस्तै ‘हाउसफुल’ 

प्रमिला कार्की, नेपाल न्यूज बैंक

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरिरहेको छ । नाइमा एक्स्पो २०२६ लाई लक्षित गर्दै एक्स्पोको तेस्रो दिनसम्म आइपुग्दा ट्राफिक प्रहरीको सचेतना स्टलमा सर्वसाधारणको उल्लेख्य सहभागिता देखिएको छ ।

ट्राफिक प्रहरी निरीक्षक लोकेन्द्रबहादुर मल्लका अनुसार एक्स्पोमा नयाँ तथा विभिन्न ब्रान्डका दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारीसाधनको अवलोकन तथा खरिदका लागि आउने सवारीधनी, चालक तथा सवारीसाधनप्रति रुचि राख्ने व्यक्तिलाई सडक सुरक्षा र ट्राफिक नियमबारे सचेत गराउने उद्देश्यले स्टल स्थापना गरिएको हो ।

उनले भने,‘एक्स्पोमा सवारीसाधन खरिद गर्न, अवलोकन गर्न र सवारीप्रति रुचि राखेर आउने धेरै व्यक्तिहरू हुनुहुन्छ । उहाँहरूलाई सवारीसाधन किन्नु मात्रै होइन, सडकमा कसरी सुरक्षित रूपमा चलाउने भन्ने विषयमा पनि सचेत गराउनु हाम्रो उद्देश्य हो । क्षणिक लापरबाहीले लाखौँ–करोडौँको सवारीसाधनसँगै अमूल्य जीवनसमेत गुम्न सक्छ । त्यसैले ट्राफिक नियम पालना, गति नियन्त्रण, मादक पदार्थ सेवन गरी सवारी नचलाउने तथा सडक संकेत र नियमबारे सचेत गराउन हामीले यो स्टल सञ्चालन गरेका हौँ ।’

मल्लले सवारीसाधन खरिदमा लाखौँदेखि करोडौँ रुपैयाँसम्म लगानी गर्ने तर सडकमा हुने क्षणिक लापरबाहीले ठूलो जनधनको क्षति हुनसक्ने भएकाले सवारी प्रयोगकर्तालाई जिम्मेवार बनाउन कार्यक्रम केन्द्रित गरिएको बताए ।

सचेतना स्टलमा ट्राफिक नियम, सडक संकेत, सडक रेखा तथा कुन अवस्थामा कुन रेखा पार गर्न मिल्ने वा नमिल्ने विषयमा पर्चा तथा पम्पलेट वितरण गरिएको छ । साथै ट्राफिक प्रहरीले प्रयोग गर्ने विभिन्न सामग्रीसमेत प्रदर्शनीमा राखिएको छ ।

उनले भने, ‘सवारीसाधन खरिदमा मानिसहरूले लाखौँदेखि करोडौँ रुपैयाँसम्म लगानी गर्नुहुन्छ, तर सडकमा हुने एक सेकेन्डको लापरबाहीले ठूलो जनधनको क्षति हुन सक्छ । त्यसैले सवारी प्रयोगकर्तालाई जिम्मेवार बनाउन हामीले यहाँ ट्राफिक नियम, सडक संकेत र सडक रेखाबारे जानकारी दिइरहेका छौँ । कुन रेखा पार गर्न मिल्छ, कुन मिल्दैन भन्ने विषयमा पर्चा–पम्पलेट वितरण गर्नुका साथै ट्राफिक प्रहरीले प्रयोग गर्ने विभिन्न सामग्रीसमेत प्रदर्शनीमा राखेका छौँ ।’

कार्यक्रमको मुख्य आकर्षण भने दुर्घटनाका वास्तविक दृश्य समेटिएका भिडियो सामग्री बनेका छन् । सीसीटीभी क्यामेराबाट प्राप्त दुर्घटनाका वास्तविक फुटेजमार्फत चालकको लापरबाही, तीव्र गति, गलत मोड तथा अन्य ट्राफिक नियम उल्लंघनका कारण हुने दुर्घटनाबारे आगन्तुकलाई जानकारी गराइएको छ ।

मल्लका अनुसार भिडियो हेरेपछि धेरै आगन्तुकले सडकमा हुने सामान्य लापरबाहीले समेत गम्भीर दुर्घटना निम्त्याउन सक्ने रहेछ भन्ने प्रतिक्रिया दिएका छन् । विशेषगरी शाखा सडकबाट मुख्य सडकमा प्रवेश गर्दा ‘रोक, हेर र जाऊ’ भन्ने नियम पालना गर्न, गति नियन्त्रणमा राख्न, मादक पदार्थ सेवन गरी सवारी नचलाउन तथा जथाभावी यू–टर्न र राइट टर्न नगर्न प्रहरीले सचेत गराएको छ ।

‘हामीले यहाँ सीसीटिभीबाट प्राप्त दुर्घटनाका वास्तविक फुटेजहरू राखेका छौँ । भिडियोमा चालकको लापरबाही, तीव्र गति, गलत मोड तथा ट्राफिक नियम उल्लंघनका कारण भएका दुर्घटनाहरू देखाइएको छ । यसले आगन्तुकलाई सडकमा सामान्य जस्तो लाग्ने लापरबाहीले पनि कति गम्भीर दुर्घटना निम्त्याउन सक्छ भन्ने बुझाउन मद्दत गरेको छ। शाखा सडकबाट मुख्य सडकमा आउँदा ‘रोक, हेर र जाऊ’, गति नियन्त्रण, मादक पदार्थ सेवन गरेर सवारी नचलाउने तथा जथाभावी यू–टर्न र राइट टर्न नगर्ने विषयमा पनि हामीले विशेष रूपमा सचेत गराइरहेका छौँ,’ उनले भने ।

स्टलमा आएका व्यक्तिले ट्राफिक व्यवस्थापनसँग सम्बन्धित आफ्ना जिज्ञासा तथा गुनासा समेत राख्ने गरेका छन् । प्राप्त गुनासा सम्बन्धित ट्राफिक युनिटमा पठाउने गरिएको मल्लले जानकारी दिए ।

उनका अनुसार एक्स्पोको पहिलो दिन करिब २ हजार र दोस्रो दिन करिब २ हजार ५ सय जनाले सचेतना स्टल अवलोकन गरेका थिए । तेस्रो दिन भने करिब ४ देखि ५ हजार जनाले स्टल तथा भिडियो सामग्री अवलोकन गरेको प्रारम्भिक अनुमान छ ।

‘फिल्म हल हाउसफुल भएजस्तै आज दिनभरि भिडियो हेर्न आउनेको भीड देखियो,’ मल्लले भने, ‘धेरैभन्दा धेरै सवारीसाधनसँग सम्बन्धित व्यक्तिलाई ट्राफिक नियम र सडक सुरक्षाबारे जानकारी गराउनु हाम्रो उद्देश्य हो, र त्यो उद्देश्य पूरा भइरहेको महसुस गरेका छौँ ।’

ट्राफिक प्रहरीले प्रत्येक व्यक्तिले आफ्नो तर्फबाट ट्राफिक नियम पालना गर्ने र परिवार तथा साथीभाइलाई समेत नियम पालना गर्न प्रेरित गर्ने हो भने दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरेको छ ।