गोलबजारमा बन्द रहेका पसल खुल्ने, सद्भाव ¥यालीपछि बजार सञ्चालन हुने

राहुल राय, नेपाल न्यूज बैंक

सिरहा । सुनसरी घटनाको विरोधमा गत बिहीबार गोलबजारमा भएको प्रदर्शनका क्रममा तोडफोड तथा आगजनी भएपछि बन्द रहेका पसलहरू आज मंगलबारदेखि पुनः सञ्चालनमा आउने भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पुरुषोत्तम यादवको पहलमा व्यवसायीहरूसँग भएको छलफलपछि बजार खोल्ने सहमति जुटेको हो । प्रदर्शनका क्रममा व्यवसायीका पसल तथा विभिन्न संरचनामा क्षति पुगेपछि त्यसको विरोधमा केही व्यवसायीले पसल बन्द राख्दै आएका थिए ।

सोही विषयमा सांसद यादवले सोमबार गोलबजार नगरपालिका–११ बल्कावामा व्यवसायी तथा स्थानीयसँग छलफल गरेका थिए । छलफलका क्रममा प्रदर्शनका क्रममा व्यावसायिक, सामुदायिक तथा व्यक्तिगत संरचनामा भएको क्षतिको विषय संसद् र सरकारसमक्ष उठाउने तथा पीडित व्यवसायीलाई क्षतिपूर्ति उपलब्ध गराउन आवश्यक पहल गर्ने प्रतिबद्धता सांसद यादवले जनाएका छन् ।

छलफलपछि मंगलबार बिहान ८ बजे गोलबजारमा सद्भाव ¥याली निकाल्ने र त्यसपछि बिहान १० बजेदेखि बजार तथा पसलहरू नियमित रूपमा सञ्चालन गर्ने सहमति भएको सांसद यादवले जानकारी दिए ।

सुनसरी घटनाको विरोधमा गोलबजारमा भएको प्रदर्शनका क्रममा करिब चार दर्जन संरचनामा तोडफोड तथा आगजनी भएको बताइएको छ ।

घटनाका क्रममा सुरक्षाकर्मीको गोली लागेर औरही गाउँपालिका–२ तुलसीपुरका १५ वर्षीय गणेश यादवको मृत्यु भएको थियो भने धनुषाधाम नगरपालिका–८ धारापानी कुम्हराका १९ वर्षीय सुभाष ठाकुर घाइते भएका छन्