सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । काठमाडौं उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुर बर्डफ्लु संक्रमणको हटस्पट बनेका छन्। पशु सेवा विभागले संक्रमण फैलिँदै गएपछि उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार काठमाडौंका चन्द्रागिरि, तारकेश्वर र कीर्तिपुर, ललितपुरका गोदावरी, महालक्ष्मी तथा ललितपुर महानगरपालिका, साथै भक्तपुरका चाँगुनारायण र सूर्यविनायक क्षेत्रमा संक्रमण बढी देखिएको छ।
झापा, मोरङ र सुनसरीबाट सुरु भएको संक्रमण महोत्तरी, बारा, चितवन हुँदै उपत्यकासम्म फैलिएको हो। पछिल्लो समय नवलपरासीमा पनि बर्डफ्लु पुष्टि भएको छ भने उपत्यकाबाहिर चितवनमा संक्रमण अझै कायम रहेको विभागले जनाएको छ।
बर्डफ्लुको प्रभावकारी उपचार वा खोप उपलब्ध नभएकाले संक्रमित क्षेत्रका कुखुरा तथा अन्य पन्छी नष्ट गर्ने कार्य जारी रहेको डा. दाहालले बताए। हालसम्म १० जिल्लाका ७२ वटा फार्ममा रहेका करिब ५ लाख १५ हजार पन्छी, ७ लाख अण्डा र १८३ टन दाना नष्ट गरिएको छ।
सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बर्डफ्लु मानिसमा पनि सर्न सक्ने र घातक हुन सक्ने भएकाले विशेष सावधानी अपनाउन आग्रह गरेका छन्। नेपालमा सन् २०१९ मा पहिलोपटक मानिसमा बर्डफ्लु पुष्टि भएको थियो र संक्रमितको मृत्यु समेत भएको थियो।
विशेषगरी कृषक, कुखुरा ढुवानीकर्ता तथा बिक्री–वितरणमा संलग्न व्यक्तिहरू उच्च जोखिममा रहेकाले सुरक्षाका मापदण्ड अपनाउन विशेषज्ञहरूले सुझाव दिएका छन्। साथै, संक्रमण नियन्त्रणका लागि व्यापक जनचेतना अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।
बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) संक्रमित पन्छीबाट मानिसमा पनि सर्न सक्ने भएकाले स्वास्थ्यकर्मीहरूले विशेष सतर्कता अपनाउन आग्रह गरेका छन्। विशेषज्ञहरूका अनुसार संक्रमित कुखुरा, हाँस वा अन्य पन्छीको मासु तथा अण्डा पर्याप्त तापक्रममा नपकाई सेवन गर्दा संक्रमणको जोखिम बढ्न सक्छ। त्यसैगरी संक्रमित पन्छी, तिनको दिसा, र्याल, प्वाँख वा बसोबास गर्ने स्थानसँग प्रत्यक्ष सम्पर्कमा आउने व्यक्तिहरू पनि उच्च जोखिममा पर्छन्।
सरुवा रोग विशेषज्ञहरूका अनुसार कृषक, कुखुरा फार्ममा कार्यरत कर्मचारी, ढुवानीकर्ता, वधशालामा काम गर्ने व्यक्ति तथा कुखुरा बिक्री–वितरणमा संलग्नहरू बर्डफ्लु संक्रमणको बढी जोखिममा हुन्छन्। संक्रमण भएमा उच्च ज्वरो, खोकी, घाँटी दुख्ने, श्वासप्रश्वासमा समस्या, निमोनिया तथा गम्भीर अवस्थामा अंगहरूमा असर पुग्ने जस्ता लक्षण देखिन सक्छन्।
विश्व स्वास्थ्य संगठन (WHO) का अनुसार मानिसमा बर्डफ्लु संक्रमण पुष्टि भएका धेरै घटनामा संक्रमित पन्छीसँग प्रत्यक्ष सम्पर्क मुख्य कारण बनेको छ। संक्रमितमध्ये मृत्यु दर पनि उच्च हुने भएकाले यसलाई गम्भीर जनस्वास्थ्य चुनौतीका रूपमा हेरिन्छ।
स्वास्थ्य विज्ञहरूले कुखुराको मासु र अण्डा राम्रोसँग पकाएर मात्र सेवन गर्न, पन्छीसँग काम गर्दा मास्क र पञ्जा प्रयोग गर्न, मृत वा बिरामी पन्छी भेटिएमा नछुने तथा तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन सुझाव दिएका छन्। साथै, संक्रमण फैलिन नदिन सरकारले जनचेतना अभियानलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याइएको छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा