सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नबिल बैंक लिमिटेड चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमाससम्म आइपुग्दा वाणिज्य बैंकहरूमध्ये सर्वाधिक नाफा कमाउने बैंक बनेको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार पुस मसान्तसम्म नबिल बैंकले ४ अर्ब ७५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४६.७१ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बैंकले ३ अर्ब २४ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। कमजोर कर्जा माग र ब्याजदर घट्दो अवस्थामा पनि नबिल बैंकले नाफा उल्लेख्य रूपमा बढाउन सफल भएको हो।
बैंकको खुद ब्याज आम्दानीमा सामान्य वृद्धि भए पनि इम्पेरमेन्ट चार्ज रिभर्स भएका कारण नाफामा उल्लेखनीय सुधार आएको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २.४२ प्रतिशतले वृद्धि भएको छ भने खुद फि तथा कमिशन आम्दानी ६.६१ प्रतिशतले बढेको छ।
यसैगरी, कुल सञ्चालन आम्दानी ५.५८ प्रतिशतले बढेको छ भने सञ्चालन मुनाफा २६.९५ प्रतिशतले वृद्धि भएको छ। बैंकका अनुसार सो अवधिमा ४ करोड ८८ लाख रुपैयाँ बराबरको इम्पेरमेन्ट चार्ज रिभर्स गरिएको छ, जसले सञ्चालन मुनाफा र खुद नाफामा उल्लेखनीय सकारात्मक प्रभाव पारेको हो।
नबिल बैंकले ५ अर्ब रुपैयाँ बराबरको ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गरेसँगै बैंकको चुक्ता पूँजी ३२ अर्ब ५ करोड ६९ लाख रुपैयाँ पुगेको छ। बैंकको जगेडा कोषमा ३६ अर्ब ७० करोड रुपैयाँ सञ्चित रहेको छ, जसले बैंकको वित्तीय आधार अझ मजबुत बनाएको देखिन्छ।
पुस मसान्तसम्म बैंकले ५ खर्ब ६६ अर्ब ५ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ४ खर्ब ३४ अर्ब ७३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। कर्जा विस्तार तुलनात्मक रूपमा सतर्क भए पनि बैंकले गुणस्तरीय कर्जा व्यवस्थापनमा ध्यान दिएको देखिन्छ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी (EPS) पनि उल्लेख्य रूपमा बढेको छ। समीक्षा अवधिमा प्रतिशेयर आम्दानी ११ रुपैयाँ ६ पैसाले वृद्धि भई ३५ रुपैयाँ ४ पैसा पुगेको छ। दोस्रो त्रैमासको अन्त्यसम्म बैंकको प्रतिशेयर नेटवर्थ २३५ रुपैयाँ ६४ पैसा रहेको छ।
सो अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब २७ करोड ३० लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी २२ रुपैयाँ ५० पैसा पुगेको छ। बैंकको मूल्य–आम्दानी अनुपात (P/E Ratio) १३.९१ गुणा रहेको छ।
कमजोर अर्थतन्त्र, घट्दो ब्याजदर र कर्जा मागको चुनौतीबीच पनि नबिल बैंकले लागत व्यवस्थापन, इम्पेरमेन्ट रिभर्स र स्थिर आम्दानी स्रोतको सहायताले नाफामा उल्लेखनीय वृद्धि गर्न सफल भएको देखिन्छ। यसले नबिल बैंकलाई चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी नाफा कमाउने बैंकको रूपमा स्थापित गरेको छ।
काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत... विस्तृतमा