सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भई जेल सजाय भोगिरहेका पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका पूर्वनेता टोपबहादुर रायमाझी रिहा भएका छन् ।
६५ वर्ष उमेर पूरा भएपछि ज्येष्ठ नागरिकले पाउने कानुनी सुविधाअन्तर्गत कैद छुट पाएसँगै उनी बिहीबार बिहान काठमाडौंको डिल्लीबजार कारागारबाट मुक्त भएका हुन् ।
रायमाझीलाई रिहा गर्न काठमाडौं जिल्ला अदालतले तिहारअघि नै डिल्लीबजार कारागारलाई पत्राचार गरेको थियो । उनले ज्येष्ठ नागरिकसम्बन्धी कानुनी व्यवस्थाअनुसार कैद छुटको सुविधा माग गर्दै अदालतमा निवेदन दिएका थिए । सोही निवेदनका आधारमा अदालतले उनको कैद अवधि पुनः गणना गरी संशोधित कैदीपुर्जी कारागारमा पठाएको थियो ।
डिल्लीबजार कारागारका जेलर बाबुराम अर्यालले पनि अदालतबाट तिहारअघि नै रायमाझीलाई रिहा गर्न पत्र प्राप्त भएको पुष्टि गरेका छन् । उनका अनुसार संशोधित कैदीपुर्जीअनुसार बिहीबार उनको कैद अवधि पूरा हुने भएकाले रिहा गरिएको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको अभियोगमा पक्राउ परेका रायमाझीलाई काठमाडौं जिल्ला अदालतले २०८३ असार ३० गते चार वर्ष कैद सजाय सुनाएको थियो । उनी २०८० वैशाख २० गते पक्राउ परेका थिए । त्यसयता उनी डिल्लीबजार कारागारमा रहँदै आएका थिए ।
ज्येष्ठ नागरिकलाई कैद छुटको कानुनी व्यवस्था
ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ को दफा १२ मा ६५ वर्ष उमेर पूरा गरेका ज्येष्ठ नागरिकलाई उमेरअनुसार कैद सजायमा छुट दिन सकिने व्यवस्था छ ।
उक्त व्यवस्थाअनुसार ६५ वर्ष उमेर पूरा भई ७० वर्ष ननाघेका ज्येष्ठ नागरिकले २५ प्रतिशतसम्म कैद छुट पाउन सक्छन् । यही कानुनी व्यवस्थाको सुविधा प्रयोग गर्दै रायमाझीको कैद सजाय घटाइएको हो ।
चार वर्ष कैद सजाय सुनाइएका रायमाझीले २५ प्रतिशत छुट पाएपछि कायम भएको कैद अवधि पूरा गरेका कारण कारागारबाट रिहा भएका हुन् ।
नक्कली भुटानी शरणार्थी प्रकरण नेपाली राजनीतिमा चर्चित भ्रष्टाचार तथा संगठित अपराधका घटनामध्ये एक हो । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रलोभन देखाउँदै रकम असुलिएको यस प्रकरणमा राजनीतिक तथा प्रशासनिक क्षेत्रका विभिन्न व्यक्तिहरू मुछिएका थिए ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा