सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै ह्याट्रिकसहित ६ विकेट लिएपछि नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्स १३२ रनमै समेटिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले १७.५ ओभरमा सबै विकेट गुमाएर १३२ रन बनाएको हो । पोखराका लागि ओपनर युवराज सिंह सम्राले आक्रामक ब्याटिङ गर्दै सर्वाधिक ८४ रन बनाए पनि अन्य ब्याटरले साथ दिन सकेनन् ।
सम्राले ४७ बलमा ७ चौका र ५ छक्काको मद्दतमा ८४ रन बनाए । त्यस्तै धनञ्जय लक्षणले २२ र सन्नी विकले १२ रन जोड्नुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
एक समय ७६ रनमा ५ विकेट गुमाइसकेको पोखराको इनिङ्स सम्हाल्न सम्रा र धनञ्जयले छैटौँ विकेटका लागि ४६ रनको साझेदारी गरेका थिए । तर, अन्य ब्याटर चल्न नसक्दा पोखरा सामान्य योगफलमै सीमित भयो ।
विराटनगरका कप्तान सन्दीपले पोखराको ब्याटिङ लाइनअप ध्वस्त पार्ने क्रममा ४ ओभरमा २७ रन खर्चेर ६ विकेट लिए । उनले खेलको १५औँ ओभरमा लगातार तीन बलमा तीन विकेट लिँदै ह्याट्रिक पूरा गरेका थिए ।
यससँगै सन्दीप एनपीएलमा ह्याट्रिक विकेट लिने तेस्रो खेलाडी बनेका छन् । यसअघि काठमाडौं गोर्खाजका शाहब आलम र लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले ह्याट्रिक गरेका थिए ।
त्यस्तै, एकै खेलमा ६ विकेट लिने सन्दीप एनपीएल इतिहासका तेस्रो खेलाडी बनेका छन् । यसअघि शाहब आलम र कर्णाली याक्सका विलियम बोसिस्टोले एकै खेलमा ६ विकेट लिएका थिए ।
विशेष कुरा त के छ भने सन्दीपले यसअघिका पाँच खेलमा जम्मा एक विकेट मात्रै लिएका थिए । तर, पोखराविरुद्धको खेलमा उनले एकैपटक ६ विकेट लिएर आफ्नो बलिङ क्षमता प्रमाणित गरेका छन् ।
विराटनगरका लागि एन्जेलो म्याथ्युज, चरिथ असलंका र रुपेश सिंहले पनि समान एक–एक विकेट लिए ।
अब पोखराले दिएको १३३ रनको लक्ष्य विराटनगर किंग्सले पछ्याउनेछ ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा