सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता तथा राज्य व्यवस्था तथा सुशासन समितिका सदस्य ज्ञानेन्द्र शाहीले पछिल्ला घटनाक्रमबारे छलफल गर्न तत्काल संसदीय समितिको बैठक बोलाउन माग गरेका छन् ।
समितिका सभापति हरि ढकाललाई सम्बोधन गर्दै शाहीले नेपाल प्रहरीका महानिरीक्षक र सरकारबीच देखिएको तिक्तता, पत्रकार पक्राउ तथा राज्यशक्तिको दुरुपयोगलगायतका विषयमा गम्भीर छलफल र छानबिन गर्नुपर्ने बताएका हुन् ।
शाहीले प्रधानमन्त्रीका सल्लाहकार कुमार बेनजीको निवासमा प्रहरी हिरासतमा लगिएका व्यक्तिको मोबाइल फोन जफत गरिएको घटनालाई समेत गम्भीर रूपमा उठाएका छन् ।
उनले पछिल्लो समय सार्वजनिक भएका घटनाक्रमले राज्य व्यवस्था र सुशासनमाथि प्रश्न उठाएको भन्दै संसदीय समितिमार्फत आवश्यक छानबिन र जवाफदेहिता सुनिश्चित गर्नुपर्ने बताएका छन् ।
शाहीले भनेका छन्, ‘पछिल्लो समय नेपाल प्रहरीका महानिरीक्षक र सरकारबीच देखिएको तिक्तता, बिना कसुर पत्रकारहरू पक्राउ गरिनु, राज्यशक्तिको चरम दुरुपयोग हुनु तथा प्रधानमन्त्रीका सल्लाहकार कुमार बेनजीको निवासमा प्रहरी हिरासतमा लगिएका व्यक्तिको मोबाइल फोन जफत गरिनुजस्ता गम्भीर र चिन्ताजनक घटनाहरू सार्वजनिक भएका छन् ।’
उनले समितिको बैठकमा प्रधानमन्त्री, गृहमन्त्री, गृहसचिव तथा नेपाल प्रहरीका महानिरीक्षकलाई अनिवार्य उपस्थित गराएर सम्बन्धित घटनाबारे स्पष्ट जवाफ माग्नुपर्ने प्रस्तावसमेत गरेका छन् ।
‘उक्त बैठकमा प्रधानमन्त्री, गृहमन्त्री, गृहसचिव तथा नेपाल प्रहरीका महानिरीक्षकलाई अनिवार्य रूपमा उपस्थित गराई सम्बन्धित विषयमा स्पष्ट जवाफ माग्ने व्यवस्था मिलाउन सभापतिज्यूलाई विशेष अनुरोध गर्दछु,’ शाहीले भनेका छन् ।
पछिल्लो समय प्रहरी संगठनको नेतृत्व परिवर्तन, सरकारसँगको सम्बन्ध तथा पत्रकार पक्राउका घटनालाई लिएर राजनीतिक वृत्तमा बहस भइरहेका बेला शाहीले संसदीय समितिमार्फत सरकारसँग जवाफ माग्न र घटनाको छानबिन गर्न माग गरेका हुन् ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा