सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । सञ्चारमाध्यमका समाचार कक्षमा प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिने तथा पक्राउ गर्ने प्रयास गरिएको घटनाप्रति प्रेस काउन्सिल नेपालले गम्भीर आपत्ति जनाएको छ।
काउन्सिलले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै सादा पोसाकका प्रहरी समाचार कक्षमै प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिने तथा पक्राउ गर्ने प्रयास गरेको घटनाले प्रेस स्वतन्त्रता र पत्रकारको व्यावसायिक सुरक्षामाथि गम्भीर प्रश्न उठाएको जनाएको हो।
काउन्सिलका अनुसार पक्राउको स्पष्ट कारण नखुलाइएको, पक्राउ पुर्जी नदेखाइएको, अदालतको अनुमति लिएको नदेखिएको तथा अपराधको जाहेरीसमेत स्पष्ट नभएको अवस्थामा सार्वजनिक बिदाको दुई दिनअघि पत्रकारलाई नियन्त्रणमा लिन खोज्नु गम्भीर आपत्तिको विषय हो।
प्रहरी प्रधान कार्यालयबाट जारी विज्ञप्तिको पृष्ठभूमिमा विकसित भएको घटनाले प्रेस स्वतन्त्रता र पत्रकारको व्यावसायिक सुरक्षामाथि प्रश्न उठाएको काउन्सिलले उल्लेख गरेको छ।
सञ्चारमाध्यममा प्रकाशित समाचार सामग्रीप्रति असहमति वा आचारसंहितासम्बन्धी उजुरी परे त्यसको छानबिन, अनुगमन र निरूपण गर्ने कानुनी जिम्मेवारी प्रेस काउन्सिल नेपालको भएको विज्ञप्तिमा उल्लेख छ।
समाचारकै विषयमा स्थापित विधि र प्रक्रियाबाहिर गएर प्रहरी परिचालन गर्नु उचित नभएको भन्दै काउन्सिलले नेपाल सरकार, प्रहरी प्रशासन तथा सम्बन्धित सबै पक्षलाई काउन्सिलको स्थापित विधि र प्रक्रियामार्फत समस्या समाधान खोज्न आग्रह गरेको छ।
त्यस्तै, नियन्त्रणमा लिइएका पत्रकारको अवस्था र पक्राउको कानुनी आधार तत्काल सार्वजनिक गर्न काउन्सिलले माग गरेको छ। कानुनी आधारबिना नियन्त्रणमा राखिएको भए तत्काल रिहा गर्नसमेत आग्रह गरिएको छ।
काउन्सिलले पत्रकार तथा सञ्चारमाध्यमलाई सत्यतथ्यमा आधारित रहेर पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न पनि अनुरोध गरेको छ।
प्रेस स्वतन्त्रताको संरक्षण र मर्यादित पत्रकारिताको संवर्द्धनका लागि प्रेस काउन्सिल नेपाल सधैँ प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ।
प्रेस काउन्सिल नेपालका वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालद्वारा जारी विज्ञप्तिमा पत्रकार पक्राउ प्रकरणमा कानुनी प्रक्रिया र प्रेस स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ।

काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा