सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल (DBAN) को २१औँ वार्षिक साधारणसभाले आगामी दुई वर्षको कार्यकालका लागि अध्यक्षमा कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिनेश थकालीलाई सर्वसम्मत रूपमा पुनः निर्वाचित गरेको छ।
एसोसिएसनको २१औँ वार्षिक साधारणसभा २०८३ कात्तिक १३ गते शुक्रबार कार्यवाहक अध्यक्ष थकालीको अध्यक्षतामा सम्पन्न भएको हो। सभामा एसोसिएसनमा आबद्ध विकास बैंकका प्रमुख कार्यकारी अधिकृतहरूको उपस्थिति रहेको थियो।
साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरणलगायत वार्षिक वित्तीय विवरणमाथि छलफल गरी स्वीकृत गरेको छ। साथै, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्तावसमेत पारित गरेको छ।
साधारणसभाले आगामी दुई वर्षका लागि थकालीको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्याय चयन भएका छन्।
त्यसैगरी, सचिवमा ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकाल र कोषाध्यक्षमा महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत दीपेश लम्साल चयन भएका छन्।
कार्यसमितिका अन्य सदस्यमा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर, लुम्बिनी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन आचार्य, सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत रविन सिजापति, ग्रीन डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत हरिबहादुर बुढाथोकी र मितेरी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत अनन्तकुमार चापागाईं चयन भएका छन्।
पुनः अध्यक्ष निर्वाचित भएपछि थकालीले एसोसिएसनले विगतमा अघि बढाएका पहल तथा गतिविधिलाई निरन्तरता दिँदै विकास बैंकिङ क्षेत्रका समसामयिक विषयमा प्रभावकारी रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले बैंकिङ क्षेत्रमा सुशासन, जोखिम व्यवस्थापन, प्रविधि तथा मानव संसाधनको क्षमता अभिवृद्धि, डिजिटल रूपान्तरण, कर्जा गुणस्तर र कर्जा असुली सुधारलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने आवश्यकता औँल्याएका छन्। सदस्य बैंकहरूबीच ज्ञान, अनुभव र उत्कृष्ट अभ्यासको आदानप्रदानलाई थप प्रभावकारी बनाउनुपर्नेमा पनि उनले जोड दिएका छन्।
थकालीले एसोसिएसनका गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउन सदस्य बैंकहरू, नियामक निकाय तथा सरोकारवालाबीच निरन्तर समन्वय र सहकार्य आवश्यक रहेको उल्लेख गरेका छन्। विकास बैंकहरूको साझा हित प्रवर्द्धनका लागि एसोसिएसन सक्रिय रहने उनको भनाइ छ।
डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालमा हाल सञ्चालनमा रहेका १७ विकास बैंक आबद्ध छन्। एसोसिएसनका अनुसार २०८३ असार मसान्तसम्म ती विकास बैंकहरूले देशभरका एक हजार ११२ शाखा र ३३६ एटीएममार्फत करिब ८० लाख ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएका छन्।
एसोसिएसनले विकास बैंकहरूको साझा हित संरक्षण तथा नेपालको समग्र बैंकिङ क्षेत्रको विकासलाई केन्द्रमा राखेर नेपाल राष्ट्र बैंकलगायत विभिन्न नियामक निकाय र सम्बन्धित संस्थाहरूसँग समन्वय तथा सहकार्य गर्दै आएको छ।
त्यसैगरी, सदस्य बैंकहरूबीच सहकार्य, समन्वय र ज्ञान आदानप्रदान प्रवर्द्धन गर्न तथा साझा समस्या पहिचान गरी सामूहिक समाधान खोज्न विभिन्न कार्यशाला र छलफल कार्यक्रम सञ्चालन गर्दै आएको छ।
प्रविधिमा आधारित बैंकिङ सेवालाई सहज बनाउन एसोसिएसनले सदस्य बैंकहरूका लागि डोमेस्टिक पीईपीएस स्क्रिनिङ (Domestic PEPs Screening), नेगेटिभ लिस्ट स्क्रिनिङ (Negative List Screening), मानव संसाधन व्यवस्थापन सूचना प्रणाली (HR MIS) र वित्तीय व्यवस्थापन सूचना प्रणाली (Finance MIS) लगायतका प्रणालीको विकास तथा सञ्चालनमा समेत पहल गर्दै आएको छ।
नयाँ कार्यसमितिले विकास बैंकहरूको साझा मुद्दालाई प्रभावकारी रूपमा अघि बढाउँदै संस्थागत विकास, डिजिटल बैंकिङ र वित्तीय सुशासनलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा