सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडद्वारा आयोजना हुन लागेको ‘कामना सेवा फुटसल कप सिजन–६’ को टाइ–सिट ड्र, जर्सी तथा ट्रफी अनावरण र ब्रान्ड एन्थम सार्वजनिक कार्यक्रम सम्पन्न भएको छ।
कार्तिक ११ गते आयोजित कार्यक्रममा प्रतियोगितामा सहभागी टोलीका प्रतिनिधि, टिम म्यानेजर, एन्फा रेफ्री तथा बैंकका कर्मचारीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा बैंकका प्रमुख सञ्चालन अधिकृत रघुनाथ त्रिपाठीले स्वागत मन्तव्य व्यक्त गर्दै कामना सेवा फुटसल कप बैंकका लागि प्रतियोगितामा मात्र सीमित नभई खेलकुदका माध्यमबाट समाज र युवासँग जोडिने महत्वपूर्ण अवसर भएको बताउनुभयो। खेलकुदले स्वस्थ जीवनशैली, अनुशासन र सामूहिक कार्यको भावना विकास गर्ने उल्लेख गर्दै उहाँले बैंकले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको बताउनुभयो।
कार्यक्रममा प्रमुख सञ्चालन अधिकृत त्रिपाठीले प्रतियोगिताको ब्रान्ड एन्थम सार्वजनिक गर्नुभएको थियो। साथै, सहभागी टोलीका टिम म्यानेजरहरूलाई जर्सी हस्तान्तरण गर्नुका साथै प्रतियोगिताको टाइ–सिट ड्र पनि सार्वजनिक गरिएको थियो।
कार्यक्रममा गत सिजन अर्थात् सिजन–५ का पुरुषतर्फका विजेता सिद्धार्थ बैंक र महिलातर्फका विजेता लुम्बिनी विकास बैंकका प्रतिनिधिहरूले आफ्ना धारणा राखेका थिए। उनीहरूले बैंक तथा वित्तीय संस्थाका कर्मचारीबीच आपसी सद्भाव र भाइचारा अभिवृद्धि गर्न यस्ता खेलकुद प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने भन्दै कामना सेवा विकास बैंकलाई धन्यवाद दिएका थिए। साथै, प्रतियोगितामा सहभागी सबै टोलीलाई शुभकामना व्यक्त गरेका थिए।
त्यसैगरी, एन्फाका सहायक रेफ्री हरिश कार्कीले प्रतियोगितामा लागू हुने खेलका नियमहरूबारे विस्तृत जानकारी गराउनुभएको थियो। उहाँले खेल अनुशासन, फाउल तथा निर्णायक प्रक्रियासम्बन्धी नियमहरू राम्ररी बुझेर स्वच्छ र रोमाञ्चक प्रतिस्पर्धा गर्न सबै टोलीलाई आग्रह गर्नुभयो। कार्यक्रममा एन्फा फुटसल रेफ्री सङ्गीता सुनुवारको पनि उपस्थिति रहेको थियो।
यस सिजनको प्रतियोगितामा पुरुषतर्फ २० टोली र महिलातर्फ १० टोली गरी कुल ३० टोलीले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिता २०८३ कार्तिक १४ र १५ गते शनिबार र आइतबार धन्वन्तरी फुटसल कोर्टमा सञ्चालन हुने बैंकले जनाएको छ।
खेलकुदको प्रवर्द्धन, युवा प्रतिभालाई अवसर प्रदान तथा महिला सहभागितालाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बैंकले जनाएको छ। बैंकले आगामी दिनमा पनि खेलकुद तथा यस्तै गतिविधिमार्फत कर्मचारीबीच सहकार्य, सद्भाव र आपसी सम्बन्ध सुदृढ बनाउने कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा